गाउँमा ‘पढाइ शिविर’ सञ्चालित

गाउँमा ‘पढाइ शिविर’ सञ्चालित

धनगढी । कैलालीसँग सीमा जोडिएको कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुबेलामा प्रगति पढाइ शिविर सञ्चालित छ । उक्त पढाइ शिविरमा स्थानीय समुदायमा बसोवास गर्ने गरिव तथा विपन्न परिवारका बालबालिकाहरु हरेक शनिबार अतिरिक्त कक्षा लिन आउँछन् । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा तीनसम्मका बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले साताको एक दिन डेढ घण्टाको कक्षा सञ्चालन हुन्छ ।  

शिविर सञ्चालनका लागि ग्वासी सामूदायिक वन उपभोक्ता समितिमा आवद्ध स्थानीय समुदायले काठको भवन बनाइ दिएका छन् । त्यही भवनमा सञ्चालन हुने पढाइ शिविरमा हरेक शनिबार कक्षा १–३ सम्मका २५ जना बालबालिकाका पढ्न आउँछन् । कृष्णपुर नगरपालिकाका पाँच वटा वडामा त्यस्तै ५० वटा पढाइ शिविरहरु सञ्चालित छन् ।

शिविरका सहजकर्ताहरुले खेल र चित्रकलाका माध्यमद्धारा बालबालिकाहरुलाई पढाउँछन् । त्यसैले बालबालिकाहरु शिविरमा जान हौसिने गरेको अभिभावकहरु बताउँछन् । सबै सहजकर्ता महिला रहेका पढाइ शिविरमा २ हजार ५०९ जना बालबालिकाहरु अध्ययनरत छन् । राना समुदायको बसोवास रहेको कृष्णपुर नगरपालिकाले राना भाषाको स्थानीय पाठ्यक्रम पनि तयार गरेको छ ।

नवदुर्गा माध्यमिक विद्यालय कक्षा एकमा पढ्छन् अधर्व बिक । अभिभावकको आर्थिक अवस्था कमजोर भएका उनी हरेक शनिबार पढाइ शिविरमा जान हौसिन्छन् । अधर्वसँगै श्रृष्टि प्राथमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत प्रतिक्षा चौधरी पनि पढाइ शिविरमा जान खुसी हुन्छिन् । ‘पढाइ शिविरमा जान छोरीलाई शनिबार विहानैदेखि हतारो हुन्छ,’ श्रृष्टिकी आमा रमाले भनिन् ‘पढाइ शिविरमा जान थालेदेखि अलि टाठी पनि भएकी छे । बुधबार कापी, कलम, ट्रयाकसुट पनि पाएपछि त झन् दङ्ग छे ।’

आधारभूत शिक्षामा अति जोखिममा रहेका बालबालिकाहरुका लागि बालसंरक्षण र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघले कृष्णपुर नगरपालिकाका १५ वटा विद्यालय सेवा क्षेत्रका समुदायमा सञ्चालन गरिरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघका रामेश्वर जैरुले बताए ।

उक्त कार्यक्रम अन्तर्गत विपन्न परिवारका बालबालिकाहरुका लागि पढाइ शिविरमार्फत शैक्षिक गुणस्तर सुधार गर्नुका साथै शैक्षिक सामग्री वितरण गर्दै आएको जैरुको भनाइ छ । ‘२ हजार ५०९ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरेका छौ,’ जैरुले भने ‘स्टेश्नरी सामग्री वितरण गर्न करिब २४ लाख खर्च भएको छ ।’

कैलालीको टीकापुर र घोडाघोडी नगरपालिकामासमेत यस्तै कार्यक्रमहरु सञ्चानलमा रहेको वर्ल्ड भिजन इन्टरनेश्नलका मुकेश पन्तले बताए ।