गण्डकीमा भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

गण्डकीमा भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङ’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।

मन्त्री नियुक्तिसँगै आजै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए।

उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए।

संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ।

मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजेका छन्।

मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पुर्‍याउन सक्छन्।

गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकिकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्।

गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ।