राष्ट्रिय सरोकारमा शेर्पा र सुशासन समिति सभापतिमा पन्त

राष्ट्रिय सरोकारमा शेर्पा र सुशासन समिति सभापतिमा पन्त

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

शनिवार सिंहदरबारस्थित राष्ट्रियसभाको संसद् सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ। यससँगै एउटा समितिमा दाबेदारीका लागि एक(एकजनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्विरोध निर्वाचित भएका छन्। यसको आधिकारिक घोषणा आइतवार मात्रै हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

उनले राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरूको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो। राष्ट्रियसभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताए।

उनले आइतवारको बैठकमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुने बताए।