लैङ्गिक समानताको सवाललाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

लैङ्गिक समानताको सवाललाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

धनगढी । लैङ्गिक समानताको सवाललाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । धनगढीमा सञ्चारिका समूहले लैङ्गिक समानता र सामाजिक समावेशिताको सवालमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । पत्रकारले गलत कामको भण्डाफोर गर्ने र समाजलाई नयाँ आयाम तर्फ लग्न मद्दत गर्ने हुँदा यसको महत्त्व बढी रहेको उनले बताए । यस्तै उनले हाम्रो कलमले सधैँ सत्य लेख्नु पर्ने बताउँदै सक्षम पत्रकारको विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । 

यस्तै उनले सञ्चारको सम्पूर्ण अधिकार संघीय सरकारले प्रदेशलाई दिनु पर्ने हो भए पनि अहिले नदिएको बताएका छन् । अधिकार केन्द्रले दिएको छैन ’ उनले भने, ‘संघीय मन्त्रीलाई तीन पटक भेटेर भनेको थिए । तर, उहाँबाट पनि समस्या सम्बोधन भएन ।’ 

उनले संघले अधिकार नदिएको हुँदा प्रदेशमा कानुन बनाउन समस्या भएको गुनासो गरे ।  उनले तत्काल आम सञ्चार नीति र आमसञ्चार विधेयक प्रदेश सभामा टेबल हुने तयारीमा रहेको जनाकारी दिए ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाहले लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकता दिनु पर्ने बताएका छन् । उनले ज्ञान सीप बढाउन यस्ता तालिमले भूमिका महत्त्वपूर्ण रहने बताए । पत्रकारले अव राजनीतिक सवाल मात्रै नभई कुना कन्दरामा रहेका आम मानिसका समस्यालाई पनि  उजागर गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य मीन बमले प्रदेश सञ्चार माध्यमहरूमा  सङ्घीयताको अनुभव गर्न नपाएको बताए ।   सरकारले मिडियाको विषयमा चासो नदिएको समेत उनले भनाइ थियो  ।  

पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले पत्रकार महिलाहरूलाई पेसामै टिकाउनै समस्या भएको बताए । सङ्ख्या घट्दै गइरहेको भन्दै त्यसका लागि सरकारले नीति बनाउन आवश्यक रहेको बताएका थिए । पेसागत रूपमा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेको भन्दै उनले प्रदेश सरकारले स्पष्ट नीति बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।
पत्रकार चाँदनी आचार्यले आफूले समाचार लेखेकै भरमा मुद्दा झेलिरहेको बताइन् । पत्रकार सुरक्षाको विषयमा सरकार गम्भीर रहनुमा उनले जोड दिइन् ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आफूहरूले पटक पटक जिल्ला स्तरमा र प्रदेश स्तरमा महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिरहेको बताए । उनले आगामी दिनमा पनि महिला तथा पुरुष पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न नयाँ किसिमका तालिमको आयोजना गरिने बताए । उनले सुदूरपश्चिममा आमसञ्चार नीति लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

पत्रकार भानुुभक्त आचार्यले यस्ता तालिमले क्षमता अभिवृद्धिका साथै पेसामा अझै सशक्त भएर लाग्न मद्दत पुग्ने बताए । उनले सबै भन्दा अघि पत्रकारले आफ्नो क्षमता अभिवृद्धि गर्न सक्यौ भने अवसर पक्कै पनि मिल्ने बताएका छन् । अहिले सबै पत्रकारहरूलाई चुनौती रहेको भन्दै उनले रहरले भन्दा पनि क्षमता अभिवृद्धि सहित पत्रकारिता गर्न सुझाव दिएका थिए । 

कार्यक्रमको प्रमुख प्रशिक्षक समेत रहेका वरिष्ठ पत्रकार बबिता बस्नेतले लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकतामा राख्न सुझाव दिइन । 

सञ्चारिका समूहका केन्द्रीय अध्यक्ष विमला तुम्खेवाले सबै क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशिता हुन आवश्यक रहेको बताइन् ।

बिहीबारबाट सुरु भएको २ दिने तालिम शुक्रवार समापन भएको हो । तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकारको सहभागिता रहेको थियो ।