राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, शर्मा र दाहालबीच प्रतिस्पर्धा

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, शर्मा र दाहालबीच प्रतिस्पर्धा

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् ।

कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १८ सांसदको साथ छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।