‘काँडेतार’  को प्रदर्शन आईतवारदेखि देशभर बन्द हुने

‘काँडेतार’  को प्रदर्शन आईतवारदेखि देशभर  बन्द हुने

नेपाली फिल्म ‘काँडेतार’  को आईतवारदेखि देशभर प्रदर्शन बन्द हुने भएको छ ।

नेपाली फिल्म ‘काँडेतार’ टिमले फागुन २७ गते अर्थात आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको हो ।
निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट ‘काँडेतार’ फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।
देशभक्तिपूर्ण भावनाको फिल्म ‘काँडेतार’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।

त्यसअघि खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । तर सोही मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।
खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ ।

नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । तर यो फिल्ममा सरकारबाट पनि सहयोग नपाएको गुनासो निर्देशक खड्काले गरेका छन् ।

निर्देशक खड्काले  फिल्म ‘काँडेतार’को मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने शहीद परिवार र घाइतेको उपचारमा सहयोग गर्ने बताएका थिए ।

यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल(भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गर्छ ।