चार दिनपछि डडेल्धुरा अस्पतालको सेवा शुरू

चार दिनपछि डडेल्धुरा अस्पतालको सेवा शुरू

डडेल्धुरा : तीन दिनसम्म अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सेवा सोमवारदेखि पुन: शुरू भएको छ ।अस्पतालमा उपचारका क्रममा गएको शुक्रवार सुत्केरी महिलाको मृत्यु भएपछि सुरक्षाको कारण देखाउँदै चिकित्सक र कर्मचारीले आकस्मिकबाहेकका सबै काम बन्द गरेका थिए ।

प्रशासनसहित जनप्रतिनिधिले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि अस्पतालका डाक्टरसहित अन्य कर्मचारी काममा फर्किएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । अस्पतालका चिकित्सकलाई प्रहरीसहित अन्य सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।

शुक्रवार र शनिवार मृतक महिलाका आफन्तले अस्पतालमा तोडफोड गरेका कारण सेवा सुविधा बन्द भएको थियो । आइतवार अस्पतालका चिकित्सकसहित अन्य कर्मचारीले सुरक्षासाथै अस्पतालमा गरिएको तोडफोडको अनुसन्धान गर्नुपर्ने माग राख्दै आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरी सामूहिक बिदामा बस्ने निर्णय गरेका थिए ।

कोठाभित्र सुरक्षाका अनुभूति हुन नसकेको भन्दै अस्पतालका चिकित्सकले सामूहिक रूपमा बाहिर गोलघरमा बसेर बिरामीको जाँच गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जीतेन्द्र कँडेलले बताए । 

अन्य सेवा सञ्चालन गरिएको भए पनि शल्यक्रिया गरेर बच्चा जन्माउने सेवा भने बन्द छ । शल्यक्रिया गर्ने कोठामा तोडफोड गरिएकोले केही दिन काम रोकिने बताइएको छ ।