स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरुसंग पहल गर्दैछु : मुख्यमन्त्री शाह

स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरुसंग पहल गर्दैछु : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरुसंग आफुले पहल गरी रहेको बताएका छन् ।

बिहीवार डोटीस्थित बडीकेदार गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको क्रममा समृद्धिका लागि स्थिर सरकार आवश्यक भएकाले स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरुसंग आफुले पहल गरी रहेको बताए ।

निर्वाचनको बेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहले, त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केहि परिवर्तनको सङ्क्ेत देखिएको बताए ।

उक्त कार्यक्रममा बोल्दै उनले संविधानको मूल मर्म अनुसार तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरुप शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, उर्जा, पर्यटन विकासको क्षेत्रमा प्रदेश सरकारले सहयोग गरिरहेको बताए ।

नयाँ बनेको प्रशासनिक भवनबाट पालिकाले सरल, सहज रुपमा जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्ने मुख्यमन्त्रीको विश्वास छ ।

संघीय सरकारको समपुरक अनुदान दुई करोड ५७ लाख रुपियाँ लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण भएको हो ।