मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउनमा दलहरू व्यस्त

मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउनमा दलहरू व्यस्त

देशमा नयाँ किसिमको राजनीतिक तरंग आएसंगै राजनीतिक दलहरु आआफ्नो दुनो सोझाउनमा व्यस्त देखिएका छन् ।

नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउनमा लागेका हुन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ ।
आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए । 
यस्तै नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेले गृह र अर्थमध्ये एउटा आफ्नो भागमा हुनैपर्ने बताए पनि दुवै मन्त्रालय नपाउने भएको छ ।

गृह वा अर्थमध्ये एउटा मन्त्रालय पाएको पाए उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने योजनामा रहेको एमालेले अब सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्री पठाउने भएको हो । रघुवीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने सम्भावना छ ।

यस्तै माओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाउने भएको छ । नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने सम्भावना छ । सरकारमा सहभागिताको विषयमा जनता समाजवादी पार्टीले कुनै निर्णय दिएको छैन ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा औपचारिक निर्णय गरेको छैन ।

एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले पनि वैकल्पिक गठबन्धनमा निम्तो दिएको समाचार बाहिरिएका थिए । प्रचण्डले धोका दिएको भन्दै कांग्रेस सभापति देउवाले नयाँ गठबन्धन बनाउन एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतका दलसँग छलफल गरेका छन् ।