आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको र यो क्रम रातिसम्म नै रहने बताए ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको उनले बताए ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उनले बताए ।

अझै एक दुई दिनको मौसम यस्तै रहने उनको भनाइ छ । तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ ।