प्रेमीले बिहे गर्न नमानेपछि प्रेमिकाले उसमाथि खन्याइन् एसिड

प्रेमीले बिहे गर्न नमानेपछि प्रेमिकाले उसमाथि खन्याइन् एसिड

भारतको नयाँ दिल्लीस्थित विकासपुरीमा एक युवकले आफूसँग विवाह गर्न नमानेपछि युवतीले उसमाथि एसिड प्रहार गरेकी छन् । 

अघिल्लो साताको मंगलवार दिउँसो युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् । 

प्रहरीले १९ वर्षीया युवतीलाई आइतवार पक्राउ गरेको हो । आरोपित युवतीले प्रेमीमाथि एसिड आक्रमण गर्नुअघि आफ्नै दुई औंलामा त्यसको परीक्षण गरेकी थिइन् । एसिड धेरै खतरनाक त छैन नि भनी उनले परीक्षण गरेकी थिइन् । एसिडले प्रेमीको ज्यान नजाने विश्वास लागेपछि उनले आक्रमणको निर्णय लिइन् । 

सोमवार राति युवतीले एसिडलाई कोल्ड ड्रिंकको २०० एमएल बोतलमा भरेर पर्समा लुकाएकी थिइन् ।मंगलवार युवकले युवतीलाई बीए पहिलो वर्षको परीक्षा दिलाउन नरेला लगेका थिए ।  युवतीले एसिड लुकाएको पर्स बाहिर राखेर परीक्षा दिइन् ।

पछि उनीहरू परीक्षा हलबाट फर्किंदा युवतीले प्रेमीलाई हेल्मेट स्ट्रिपले समस्या आएकोले हेल्मेट उतार्न भने । युवकले हेल्मेट उतारे अनि त्यसको केही क्षणपछि नै उनीमाथि एसिड आक्रमण भयो । 

दुवैले यस विषयमा प्रहरीसमक्ष उजुरी दिएनन् । तर भोलिपल्ट युवकले एक आँखा ७० प्रतिशतसम्म क्षतिग्रस्त हुन सक्ने थाहा पाए । त्यसपछि चाहिँ उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे । 

उनले प्रेमिकामाथि शंका गरे । प्रहरीले युवकमाथि आक्रमण भएको स्थानको सीसीटीभी क्यामरा हेर्दा आक्रमणको संकेत पाएन ।

युवतीले पनि आफ्नो स्वास्थ्य जाँच गरिनन् जबकि उनका दुई औंलामा एसिड खसेको थियो । अनुसन्धान अधिकारीहरूले उनलाई औंला कसरी डढ्यो भनी सोध्दा युवती आत्तिइन् र स्वास्थ्य जाँच गराउन मानिन् । प्रहरीले उनीमाथि शंका गरेर गहन अनुसन्धान गरेपछि युवतीले सत्य कुरा ओकलिन् ।

प्रहरीले सोधपुछ गर्दा युवतीले प्रेमीको अनुहार बिगारेर अरू कुनै केटीले उसलाई मन नपराऊन् भन्ने उद्देश्य लिएको बताइन् । त्यसपछि युवकले उनैलाई विवाह गर्लान् भन्ने युवतीको आशा थियो । अहिले उनी आफ्नो कामको पश्चात्ताप गरिरहेकी छन् ।