टी–२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

टी–२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच हुँदैछ। खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ।

आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए। यो खेलपछि फाइनलको समीकरण तयार भएको हो।

यो खेलबाट १ अंक पाएको नेदरल्यान्डस ५ अंकका साथ फाइनल पुगेको हो। नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको छ। नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो।

आइतबार १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन्।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्डस र नाममिबिया सम्मिलित छन्। ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ। नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्डस एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ।