एक महिनामा ८२ पाकेटमार पक्राउ, …यसरी मार्छन् पाकेट

एक महिनामा ८२ पाकेटमार पक्राउ, …यसरी मार्छन् पाकेट

महानगरीय प्रहरी परिसर काठमाडौँले ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ। त्यसमा चार जना महिला पनि छन्। उनीहरूलाई यात्रुहरुको साथवाट पाकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दाचोर्दे रङ्गे हात पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परिसरले आइतबार पत्रकार सम्मेलन गर्दै जेठ १ देखि ३२ गतेसम्मे पिक पकेटिङ्ग नियन्त्रण अभियान अन्तर्गत सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ८२ जनालाई सार्वजनिक गरेको छ।

सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको भन्ने सुचनाको आधारमा प्रहरीले यातायात व्यवसायीसँग सहकार्य गर्दै सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो। सो क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र वोगटीले जानकारी दिए।

पाकेटमारी गर्दा गर्दे विभिन्न व्यक्तिहरूको छ लाख रूपैयाँ भन्दा बढी वरामद गरिएकोमा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ। पाँचथर घर भएका नागेन्द्र लिम्वुको वालाजुमा पाकेट मार्दा मार्दे दुई लाख रूपैयाँसहित पाकेटमारलाई पक्राउ गरि रकम फिर्ता गरिएको छ। पाकेटमार तथा चोरहरूको साथबाट २१ थान मोबाईल, दुई थान ल्यापटप तथा अन्य सामानसमेत बरामद गरिएको छ।

कसरी मार्छन पाकेट ? यस्तो साङ्केतिक भाषा
प्रहरीका अनुसार पाकेटमारहरू छ जनासम्मको समुह बनाएर सार्वजनिक यातायातमा छिर्छन्, अनि पैसा भएको यात्रुको पहिचान गर्छन्। पैसा भएको यात्रु पहिचान गरि उसलाई अगाडी पछाडीवाट घेरावन्दीमा पार्छन्, ठेलमठेल गर्छन् र त्यही मौकामा पाकेट मारेर बसबाट झर्छन्।

पाकेटमार्दा यस्तो साङ्केतिक भाषा प्रयोग गर्छन :
उनीहरूले पाकेट मार्ने क्रममा पैसालाई द, मोबाईललाई कान, पाकेटमारी पीडितलाई रामे, पाकेटमारी गर्ने मास्टरलाई काशी भनेर साङ्केतिक भाषा प्रयोग गर्छन्। त्यस्तै, पैसा धेरै छ लाई टानको द, पैसा थोरै छ लाई जुटको द, गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठुल्दाई आयो भन्छन्।

ड्राईभरलाई माम, खलासीलाई मले भनेर पकेट मार्दा साङ्केतिक भाषा प्रयोग गर्ने पाकेटमारहरूले गाडीबाट झरेर भागलाई टप्की, गाडीभित्र अगाडी सरलाई अकल जा र पछाडी सरलाई चिछल जा भन्ने गरेको प्रहरीले जनाएको छ।

के हुन्छ सजाय ?
पहिलो पटक पाकेट मारेमा एक महिना जेल तथा विगो वरावरको जरिवाना र दोस्रो पटक पनि पाकेट मारेको पाइएमा दुई महिनाको कैद तथा विगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय हुनसक्ने डीएसपी वोगटीले बताए।