सरकार नसच्चिए खतरा : कांग्रेस ‘गुठी विधेयकले द्वन्द्व सिर्जना’

सरकार नसच्चिए खतरा : कांग्रेस ‘गुठी विधेयकले द्वन्द्व सिर्जना’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको एकपछि अर्को कदमले आफ्नै गतिलाई खतरा निम्त्याएको दाबी गरेको छ ।  कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले सनातन धर्मसंस्कृति र परम्परासँग जोडिएको गुठी संस्कृतिलाई गिजोलेर व्यवस्थामाथि र आफ्नै गतिलाई समेत खतरा निम्त्याउने गरी अघि बढिरहेको बताएको हो ।

गुठीसम्बन्धी दृष्टिकोण नसच्याए सरकार ढल्न सक्ने चेतावनी समेत सांकेतिक रूपमा कांग्रेसले दिएको छ । पशुपतिनाथ मन्दिरका मूल भट्ट परिवर्तन गर्न खोज्दा तत्कालीन माओवादी नेतृत्वको सरकार ढलेको इतिहास नबिर्सन भन्दै उसले सांकेतिक रूपमा सरकारलाई सचेत गराएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सांकेतिक रूपमा भने, ‘विगतमा एउटा थलोमा कम्युनिस्ट सरकारले हस्तक्षेप गर्न खोज्यो, परिणामतः सरकारका लागि सो घटना सुखद् रहेन, अहिले पनि अवस्था त्यतातर्फ नजाओस् ।’

कांग्रेसले विधेयक तत्काल फिर्ता लिनसमेत सरकारलाई सुझाएको छ । विधेयकले द्वन्द्व सिर्जना गराउने काम गरेको भन्दै कांग्रेसले द्वन्द्वको अवस्थामा मुलुकलाई नपु¥याउन सरकारलाई कांग्रेसले सुझाएको हो ।

परम्परा, धर्म, संस्कृतिका सम्बन्धमा स्थापित गुठीहरूको बारेमा सरोकारवालासँग सल्लाह नगरी गुठियारको भावनामा पुग्ने चोटको हेक्का नराखी विधेयक ल्याएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

पहिलो चरणको जागरण सफल

कांग्रेसले पहिलो चरणमा ७७ वटै जिल्लामा आयोजना गरिएको एकमहिने जनजागरण कार्यक्रम सफल भएको बताएको छ ।

कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको हो । दोस्रो चरणको अभियान सुरु गर्दा भने पार्टीको अन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठनलाई समेत पूर्णता दिइने कांग्रेसले जनाएको छ ।

पहिलो चरणको जागरण कार्यक्रमअन्तर्गत जिल्ला, क्षेत्र, गाउँ नगर र वडास्तरमा गरेर २ हजार कार्यक्रम आयोजना गरिएको प्रवक्ता शर्माले बताए ।

३१ हजार बढी कांग्रेसमा प्रवेश

प्रवक्ता शर्माले पहिलो चरणको जनजागरण कार्यक्रममा देशभरबाट गरेर ३१ हजार ६४२ जना व्यक्ति विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गरेको बताए । सो संख्यामध्ये धेरै जसो सत्तारूढ दल नेकपाबाट प्रवेश गरेको प्रवक्ता शर्माले जानकारी दिएका हुन् ।

‘जागरण अभियानले कांग्रेसप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकाल्यो, पार्टी प्रवेश गर्ने संख्यामध्ये दुई तिहाइ त नेकपाकै नेता कार्यकर्ता छन्,’ प्रवक्ता शर्माले भने ।

कांग्रेसले जागरण अभियानमा खटाइएका प्रतिनिधिलाई असार दोस्रो सातासम्म अभियानबारेको प्रतिवेदन बुझाउनसमेत भनेको छ । आएका प्रतिवेदनका आधारमा असार तेस्रो साता बस्ने केन्द्रीय कार्यसमिति बैठकले जागरण अभियानबारे थप समीक्षा गर्ने प्रवक्ता शर्माले जनाएका छन् ।

‘लोकसेवा विज्ञापन रद्द गरौं’

नेपाली कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गरिनुपर्ने बताएको छ । तर, करारमा कर्मचारी नियुक्ति गर्न भने नहुने कांग्रेसको धारणा छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आयोगले हाल गरेको विज्ञापन रद्द गरेर संविधानमा भएको व्यवस्थाअनुसार नै कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने जनाए ।

‘आयोगले संविधानको मर्म र भावनाविपरीत गरेको विज्ञापन रद्द गरेर संविधानअनुसार नै अघि बढ्नुपर्छ, यसको अर्थ करारमा भना गरौं कांग्रेसले भन्दैन,’ प्रवक्ता शर्माले भने । उनले विज्ञापनलाई आधार मानेर आवेदन दिएकाहरूलाई भने सरकारले परीक्षामा सहभागी हुने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । संसद्को राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिइसकेको छ ।