गुगल डक्समा हातैले लेख्न सकिने फिचर आउँदै

गुगल डक्समा हातैले लेख्न सकिने फिचर आउँदै

काठमाडौं । गुगल डक्समा हातैले लेख्न सकिने फिचर आउने भएको छ । एक ब्लगपोस्ट मार्फत गुगलले डक्समा हातैले लेख्न सकिने फिचर आउन लागेको जानकारी दिएको हो । 

डक्समा यो फिचर उपलब्ध भएपछि कागजमा कलमले लेखेजस्तै लेख्न सकिने छ । त्यसो हुँदा डक्सको कुनै पनि फाइलमा प्रयोगकर्ताले लेख्न आफ्नो औंला अथवा स्टाइलस (स्क्रिनमा लेख्न प्रयोग गरिने कलम जस्तो डिभाइस) प्रयोग गर्न सक्नेछन् । तर यो फिचर एन्ड्रोइड ट्याबलेट र स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने गुगलको भनाइ छ । 

यस फिचरअन्तर्गत विभिन्न प्रकारका कलम, हाइलाइटर र इरेजर समावेश छन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको रङ्ग प्रयोग गर्न सक्नेछन् । तर त्यसरी लेखिएका अक्षरहरूलाई टेक्स्टमा रूपान्तरण गर्ने फिचर भने यसमा समावेश गरिएको छैन । 

गुगल डक्समा आएको यो फिचर भने यसअघि नै एप्पलले उपलब्ध गराइसकेको छ । एप्पल पेन्सिल प्रयोगकर्ताले आईप्याड लगायतका डिभाइसमा हातैले लेख्न सक्छन् । यता गुगलले भने पर्सनल गुगल अकाउन्ट र गुगल वर्कस्पेस सब्सक्राइबर प्रयोगकर्तालाई मार्च महिनाभित्र यो फिचर उपलब्ध गराइसक्ने जनाइएको छ ।