एलाइन्स ईन्टरनेशनल मोडल स्कुलको १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

एलाइन्स ईन्टरनेशनल मोडल स्कुलको १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीमा रहेको एलाइन्स ईन्टरनेशनल मोडल स्कुलले आफ्नो १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरी स्कुलले १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो । विद्यालय सञ्चालन समितिका अध्यक्ष गिरीराज ओझाको सभापतित्वमा सम्पन्न भएको उक्त १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेलाका प्रमुख अतिथि सुदुरपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा.पदमराज जोशी रहनु भएको थियो ।

साथै उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाअध्यापक, शिक्षक प्रतिनिधी, अभिभावक, विद्यार्थी एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा.पदमराज जोशीलाई सम्मान गरिएको थियो । साथै २०६२ सालमा स्थापना गरिएको सो विद्यालयका संस्थापक अध्यक्ष भक्त बहादुर अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी १९ औँ बार्षिकोत्सव तथा अभिभावक भेलामा खेलकुदका विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरु, नृत्यमा उत्कृष्ट भएका विद्यार्थी, उत्कृष्ट शिक्षक, कर्मचारी, उत्कृष्ट अभिभावक लगायतलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्कुलले उत्कृष्ट शिक्षा दिइ रहेको बताएका थिए ।

वि.सं.२०६२ सालमा स्थापना भएको एलाइन्स ईन्टरनेशनल मोडल स्कुलमा पीजी देखि कक्षा १२ सम्म कम्प्युटर साईन्स, व्यवस्थापन, होटल म्यानेजमेन्ट र  कानुन संकायका कक्षाहरु सञ्चालन हुने गरेका छन् ।