औलोबाट जोगाउन बैतडीमा गर्भवतीलाई कीटनाशक झुल वितरण

औलोबाट जोगाउन बैतडीमा गर्भवतीलाई कीटनाशक झुल वितरण

बैतडी : औलोरोगको जोखिममा रहेको तल्लोस्वराडमा क्षेत्रका गर्भवतीलाई कीटनाशक झुल वितरण गरिएको छ।  बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेब मोहन कलौनीले बताए।

लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको हो। लामखुट्टे हुर्किने भएकाले पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको छ। गत वर्ष शिवनाथमा तीन जनामा औलो देखा परेको थियो। 

औलोरोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । 

यस्ता लक्षण देखिए अनिवार्यरूपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै स्वास्थ्य कार्यालय बैतडीका डा जगदीशचन्द्र विष्टले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षण गराउन आग्रह गरे।