नेपाल–भारत जोड्ने पुल ४ दिनका लागि बन्द

नेपाल–भारत जोड्ने पुल ४ दिनका लागि बन्द

दार्चुला : नेपाल-भारत जोड्ने दार्चुला खलंगास्थित झोलुंगे पुल चार दिनका लागि बन्द हुन लागेको छ। जिर्ण भइसकाले मर्मतका लागि झोलुंगे पुल मर्मत सम्भारका लागि चार दिनका लागि बन्द हुन लागेको हो।

नेपाल–भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए। भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो।

सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो। नेपाल–भारत जोड्ने खलंगास्थितको झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धारचुलाले अनुरोध गरेको छ।

यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन। विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुंगे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुंगे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ। सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुंगे पुलको मर्मत गर्न लागेको हो। भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुंगे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन्।