वर्तमान सरकार खरानीको डल्लो : ओली

वर्तमान सरकार खरानीको डल्लो : ओली

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए ।

उनले एमाले सरकारमा रहँदा नैतिकता देखाएको उल्लेख गर्दै ओलीले वर्तमान सरकार जिम्मेवारीहीन भएको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी हुँदा पनि बर्खास्त गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहालको लाचारीपन भएको बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार खरानीको डल्लो जस्तै भएकाले आफैँ सिद्धिने दाबी गर्नुभयो । उनले एमाले सरकार फेरबदलको खेलमा नरहेको समेत बताए ।

उनले एमाले मिसन ८४ को अभियानमा रहेको बताउँदै पीडितमैत्री स्थिति बन्ने बित्तिकै टीआरसी विधेयक संसदबाट पारित हुने बताए । त्यसका लागि सरकार तथा गठबन्धन तयार हुनुपर्ने उनको भनाइ छ ।