नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ : नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिनुभएको हो । 

आगामी जुनमा हुने आईसिसी टी–२० विश्वकप क्रिकेटको तयारीको रुपमा लिईएको यस सिरिजको पहिलो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । 

नेपाल र नेदरल्यान्ड्सबिच टी–२० मा हालसम्म नौ खेल भएका छन् । जसमा दुवै टोलीले चार चार खेल जितेका छन् । एक खेल वर्षाको कारण रद्द भएको थियो 

नेदरल्यान्ड्सविरुद्ध आज नेपालले ललितनारायाण राजवंशी र प्रतिश जिसीलाई मौका दिइएको छ । नामिबियाविरुद्ध अघिल्दो खेलमा रहनुभएका अविनाश बोहरा र विवेककुमार यादवलाई आराम दिईएको छ । 

नेदरल्यान्ड्सविरुद्ध नेपाल-११

रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी र सन्दीप जोरा ।