सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउँदै

सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउँदै

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आइतबार दिउँसो चार बजे झण्डै २९ अर्ब बराबरको बजेट प्रस्तुत गर्दैछ । 
असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले झण्डै २९ अर्ब बराबरको बजेट ल्याउन लागेको हो । जसको तयारी पूरा भएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले असारसम्ममा करीब ६० प्रतिशत बजेट खर्च गर्ने दाबी गर्दै आएको छ ।

आउँदो वर्षको लागि चालू आर्थिक बर्षको भन्दा झण्डै चार अर्ब बढाएर बजेट ल्याउन लागेको प्रदेश सरकारका सामु बजेट कार्यान्वयनको चुनौति भने यथावत छ । 
प्रदेश सरकारले बजेटको सिद्धान्त, नीति र प्रमु्ख कार्यक्रम र नीति तथा कार्यक्रम घोषणा गर्दा मानव विकास सूचकांकमा पछाडि परेको बाजुरा सहितका जिल्लालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताइसकेको छ ।

‘कर्मचारी समायोजन, आवश्यक कानून नभएको कारण चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्न सकेनौं, तर अब कर्मचारी समायोजन पूरा भएकोले आउँदो बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी ल्याउन लागेका छौें”– आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादु्र बोहराले भने । मन्त्री बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताए ।

वैदेशिक आयातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने बताउँदै उनले विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको बताए । प्रदेशको गरिबी, बेरोजगारीलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याउने समेत जनाइएको छ ।

विगतको केही योजनाहरू दोहोरिने र केही नयाँ योजनाहरू थपिएर बजेट ल्याउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले संघीय सरकारबाट गत चालू आर्थिक बर्षमाम पाएको अनुदान बाफतको रकम भन्दा झण्डै साढे दुई अर्ब कम पाउने आर्थिक मामिला तथा योजना मन्त्री बोहराले जानकारी दिए । 
यसैबीच मन्त्री बोहरालाई बजेट निर्माण तथा तयारीमा निकै सकस भएको पाइएको छ । सत्तारुढ दल नेकपाभित्रै बजेटलाई लिएर सांसदहरुबीच रस्साकस्सी चलेपछि बजेट तयारीमा पनि उत्तिकै सकस भएको स्रोतको दाबी छ ।