महाकाली बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सव, मन्त्री देउवाले भने –‘गुणस्तरिय शिक्षामा जोड दिउ’

महाकाली बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सव, मन्त्री देउवाले भने –‘गुणस्तरिय शिक्षामा जोड दिउ’

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली बहुमुखी क्याम्पसको ३२ औ वार्षिकोत्सव मनाइएको छ ।

क्याम्पसको आफ्नै प्राङ्गणमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न गतिविधि गर्दै वार्षिकोत्सव मनाइएको हो ।

क्याम्पसका अध्यक्ष  हरेन्द्र सिंह विष्टको अध्यक्षतामा भएको कार्यक्रमको भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले समुद्घाटन गरे ।

सो अवसरमा मन्त्री देउवाले सिपमुलक, व्यवहारिक र वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको बताए । ‘क्याम्पसका शैक्षिक गतिविधि  अव्वल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढदो आकार्षणलाई ध्यान दिई गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गर्न आग्रह गर्दछु । साथै यस क्याम्पसको भौतिक र शैक्षिक प्रगतिको लागि मेरो व्यक्तिगत र सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु’ मन्त्री देउवाले भने –‘शिक्षा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको राजमार्ग हो । यसले हरेक व्यक्तिको सर्वांगीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्छ । त्यसैले शिक्षालाई देश विकासको पूर्वाधारको पनि प्रमुख पूर्वाधारका रूपमा लिइन्छ ।’

उनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै ‘सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वांगीण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच र अध्ययन सँगै काम गर्ने, जीवनउपयोगी शिक्षा प्रदान गर्नु आजको आवश्यकता  हो ।’ 

उनले सुदूरपश्चिम प्रदेश सरकारले सुदुरपश्चिम प्रदेश प्रविधिक विश्वविद्यालय स्थापनाका लागि ऐनको मस्यौदा अन्तिम चरणमा पुर्याएको बताए । ‘अव यसलाई संसदका विषयगत समिति मार्फत छलफल सकिए पछि मन्त्रीपरिषद हुदै प्रदेश सभामा पेश गर्ने योजना बनाएका छौ । यो विश्वविद्यालय स्थापना भए पछि यस क्षेत्रमा प्रविधिक जनशक्ति निर्माण भै यहाँको रोजगारी र अन्य गुणस्तरीय जिवन यापनमा सहज हुने सरकारको लक्ष्य रहेको छ’ उनले भने । 

उनले प्रदेश सरकार गठन भएको दिन देखि सुदूरपश्चिम प्रदेशलाई कसरी उन्नत र विकाशित प्रदेश बनाउन सकिन्छ र यहाँका नागरिकको शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, भरपर्दो सार्वजनिक यातायात, वर्षभरी नै सिचाई, कृषिलाई व्यवसायीक र रोजगारीमा कसरी बृद्धि गर्न सकिन्छ भनेर आवश्यक योजना, नीतिगत व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गरि नागरिकको जिवन स्तरलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने दिशा तर्फ अघि बढेको बताए ।

प्रदेश सभा सदस्य तथा प्रदेश मामिला तथा विधायन समिति सभापति दिवानसिंह विष्टले सरकारले ल्याएको योजना अनुसार प्राविधिक विश्वविद्यालय कञ्चनपुरको पुनर्वासमा स्थापना गर्न माग गरे । उनले भने –‘यहाँ जग्गा पनि उपलब्ध गराउन सकिन्छ । त्यसैले सरकारले यहाँ प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेमा भारतले कम्तिमा दशौ अर्वको लगानी लगाउने छ ।’

उनले विगतको तुलनामा अहिले बेलौरीमा सदरमुकाममा आवश्यकता पर्ने आधारभुत सुविधाहरुको व्यवस्था भइरहेको बताउँदै –‘अहिले विद्युत, मालपोत लगायतका शुल्क तिर्न महेन्द्रनगर जानुपर्ने अवस्था छैन् । आँखा उपचार, बैंक व्यवस्था लगायतका यही उपलब्ध छन् ।’

विद्यालयका सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजालले स्वागत गरेको कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख धर्मराज जोशीले पेश गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न कला, संस्कृति, नाचगान गर्नुका साथै उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।
 

क्याम्पसको वार्षिकोत्सवको अवसरमा रिवन काटेर मन्त्री देउवाले कम्प्यूटर कक्षको समुदघाटन गरे ।