डाक्टर अर्याललाई जिम्मेवारीबाट हटाउन गरिएको निर्णयबारे सामाजिक विकास मन्त्रालयमा पत्र दर्ता

डाक्टर अर्याललाई जिम्मेवारीबाट हटाउन गरिएको निर्णयबारे सामाजिक विकास मन्त्रालयमा पत्र दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशको एकीकृत फोहोर व्यवस्थापन उपकरण खरिद प्रकरणमा सामाजिक विकास समितिले आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई पदबाट हटाउन गरेको निर्णयको पत्र सामाजिक विकास मन्त्रालयमा दर्ता गरिएको छ ।

आइतबार समितिले बहुमतको दम्भमा गरेको निर्णयको पत्र सोमबार दिउँसो मन्त्रालयमा दर्ता गरिएको हो । मन्त्रालयका प्रवक्ता हेमराज खडकाले समितिले पत्र पठाएको र सो पत्र मन्त्रालयले दर्ता गरेको जानकारी दिए ।

उनले भने –‘पत्र प्राप्त भएको छ । यसबारे छलफल भने हुन सकेको छैन् । मन्त्रीज्यू यहाँ छैनन । डाक्टर अर्याललाई जिम्मेवारीबाट हटाउने वा मन्त्रालय स्वयमले यस विषयको जिम्मेवारी लग्ने बारे नीतिगत निर्णय हुने छ ।’ उनले संसदीय समितिले पत्र पठाएकोले सोही अनुसार मन्त्रालयले आवश्यक निर्णय लग्ने बताए ।

केही प्रदेश सभा सदस्यहरुको नाम जोडेर सञ्चारमाध्यमबाट आक्षेप लगाउने काम गरेको भन्दै केन्द्रका प्रमुख डाक्टर अर्याललाई अनुसन्धानको टुङ्गो नलागेसम्म पदबाट बर्खास्त गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने समितिले निर्णय गरेको थियो ।

समितिको निर्णयमा तीन सदस्यले अस्वीकृत गरेका थिए भने पाँच जना सदस्यले सहमति गर्दै बहुमतका आधारमा सो निर्णय पारित भएको घोषणा गरेका थिए । 

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश भएको कार्यक्रम अन्तरगत नौ करोड २० लाख बजेट विनियोजन भइ टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालमा जडान गर्न केन्द्रले कम्पनिसंग सम्झौता गरि प्रक्रिया अघि बढाइ सकेको छ ।

समितिले उपकरण खरिदमा केही महिना अघि अनियमितता नभएको भन्दै –‘सामाजिक विकास मन्त्रालयलाई छानविन गरि प्रतिवेदन पेश गर्न भन्दै निर्णय गरेको थियो ।’ सोही अनुसार मन्त्रालयले पाँच सदस्यीय छानविन टोली गठन गरेको थियो । सो टोलीको प्रतिवेदनमा भनिएको छ –‘खरिद प्रक्रियामा नियमसंगत छ र कुनै पनि कमजोरी रहेको छैन् ।’

सो प्रतिवेदनपछि समितिले मन्त्री झपटबहादुर साउद र निमित्त सचिव गणेशबहादुर सिंहसंग सोधपुछ गरेको थियो । मन्त्री साउँदले आर्थिक अनियमितता भएको पाइएमा सम्बन्धित कार्यालयमाथि छानविन गरि आवश्यक कारबाही गर्ने बताएका थिए ।