बहुमतको दम्भमा डाक्टर अर्याललाई आपुर्ति प्रमुखबाट हटाउन सामाजिक विकास समितिको निर्णय, कारणः आक्षेप लगाइयो

बहुमतको दम्भमा डाक्टर अर्याललाई आपुर्ति प्रमुखबाट हटाउन सामाजिक विकास समितिको निर्णय, कारणः आक्षेप लगाइयो

धनगढी । सुदूरपश्चिम प्रदेशको एकीकृत फोहोर व्यवस्थापन उपकरण खरिद प्रकरणमा सामाजिक विकास समितिले आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई पदबाट निलम्बन गर्न निर्देशनसहितको निर्णय गरेको छ ।

केही प्रदेश सभा सदस्यहरुको नाम जोडेर सञ्चारमाध्यमबाट आक्षेप लगाउने काम गरेको भन्दै केन्द्रका प्रमुख डाक्टर अर्याललाई अनुसन्धानको टुङ्गो नलागेसम्म पदबाट बर्खास्त गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने समितिले निर्णय गरेको हो ।

समितिको निर्णयमा तीन सदस्यले अस्वीकृत गरेका थिए भने पाँच जना सदस्यले सहमति गर्दै बहुमतका आधारमा सो निर्णय पारित भएको घोषणा गरे । निर्णयमा नेकपा एमालेका धर्मराज पाठक, हिरा सार्की र निर्मला देवी साउदले असहमति व्यक्त गरेका थिए ।

तर, समितिले सत्तागठबन्धनको बहुमतको आँडमा निर्णय पारित गरेको छ । डाक्टर अर्यालले आफुहरुले उपकरण खरिदमा पैसाको बाग्रेनिङ्ग गरेको, आफु निकटको कम्पनिलाई ठेक्का सम्झौता गर्न दबाब दिएको भन्दै समितिका सदस्य प्रकाश बम र ओमबिक्रम भाटको नाम उल्लेख गरेर पत्रपत्रिकामा समाचार सम्प्रेषण गराएको भन्दै पदबाट हटाउन समितिलाई निर्णय गर्न दबाब दिइएको छ ।

उपकरण खरिद नहुँदै ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिले छानविन गरिरहेको छ । यस्तै, सो उपकरण खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । 

समितिका सदस्य भाटले केन्द्र प्रमुख अर्यालले उपकरण खरिदमा स्पष्टिकरण दिए पनि आफ्नो नाम सञ्चारमाध्यममा बिना कारण ल्याएको, आफुले कुन कम्पनिलाई ठेक्का दिन भनेको र को बाट पैसा मागेको भन्नेबारे चित्तबुझ्दो जवाफ नआएको बताउँदै –‘पटक–पटक विवादमा आइरहेका डाक्टर अर्याललाई तत्कालन जिम्मेवारीबाट हटाउन मन्त्रालयलाई निर्देशन सहितको निर्णय लिनुपर्छ ।’ उनले उक्त निर्णय मान्य नभए आफुले पनि बैठकको निर्णयमा हष्ताक्षर नगर्ने बताए । 

समितिका सदस्य प्रकाश बमले अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय नभएसम्म कुनै कुरामा सहमति नहुने बताए । उनले भने –‘अन्य निर्णयहरुबारे थाहा छैन । समितिले डाक्टर अर्याललाई हटाउने निर्णय जसरी पनि गर्नुपर्छ ।’

समितिका सदस्य पाठकले भने –‘समितिको अपरिपक्व निर्णयका कारण पछि पछुताउने काम भइरहेको छ । कुनै निर्णय लिदा गम्भिर हुन जरुरी रहेको छ । हामीलेनै मन्त्रालयलाई उपकरण खरिदमा छानविन गर्न भनी निर्णय गरेका थियौ । सोही अनुसार मन्त्रालयले छानविन गरि कुनै पनि कमजोरी नरहेको भन्दै प्रतिवेदन पठाएको छ ।’ उनले अहिलेनै हटाउने निर्णयमा आफु असमर्थ रहेको बताए ।

समितिकी सदस्य निर्मलाले डाक्टर अर्याललाई एकचोटी सोधपुछका लागि पुन बोलाउन र सोबाट चित्तबुझ्दो जवाफ नआए समितिको बैठकले निर्णय लिनुपर्ने बताइन् । उनले भनिन –‘सञ्चारमाध्यमबाट लगाइएको आक्षेपबारे डाक्टर अर्यालसंग समितिले बोलाएर जवाफ माग्नुपर्छ । अनिमात्र हटाउने निर्णयबारे समितिमा छलफल हुनुपर्छ ।’