निर्वाचन आयोगद्धारा मतदाता नामावली दर्ता स्थगित

निर्वाचन आयोगद्धारा मतदाता नामावली दर्ता स्थगित

निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने मिति तय भएसँगै आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकाले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन गरिएको आयोगका उपसचिव एवम् प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

प्रवक्ता डा. भुसालका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने आयोगले आइतबार निर्णय गरेको हो ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।

इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेश सभामा कांग्रेसका सिंह निर्वाचित भएका थिए ।