क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७।५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यस सिरिजमा नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको स्कवर बनाउन सकेन । नेदरल्याण्ड्स विरुद्ध बनाएको १७२ रन नै नेपालले सिरिजमा बनाएको सर्वाधिक स्कोर रह्यो ।