रेष्टुरेन्टको शौचालयमा युवतीको भिडियो खिच्ने डीएसपी नौ दिनदेखि थुनामा

रेष्टुरेन्टको शौचालयमा युवतीको भिडियो खिच्ने डीएसपी नौ दिनदेखि थुनामा

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि स्वयम्भू प्रहरी वृत्तको थुनामा छन् । ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो ।

डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो ।  वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

के भएको थियो घटना ?

डीएसपी केसीसहित चारजना सशस्त्र प्रहरीका निरीक्षक ९इन्स्पेक्टर० साँझ ६ बजेर ३७ मिनेटमा रेष्टुरेन्ट पुगेका थिए । रेष्टुरेन्टको एक टेबलमा बसेका चारजनाले नै मदिरा पिए । उनीहरु बसेकै टेबलको अघिल्तिरको टेबलमा केही सयमपछि एक युवती र उनका पुरुष साथी आए । 

उनीहरुले भने मदिरा पिएनन् । अन्य खाजा खाए । तर, उनीहरु पनि लामो समय रेष्टुरेन्टमै बसे । तीन घण्टा रेष्टुरेन्टमा बिताएका डीएसपी केसी ९ बजेर २० मिनेटमा रेष्टुरेन्टको शौचालय छिरे । केसी गएको केही समयपछि ती युवती पनि शौचालय पुगिन् ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै बनाएको शौचालयभित्र उनीहरु छिरेका थिए ।  पार्टेसन गरेर निर्माण गरिएको शौचालयको माथिल्लो भागपट्टि भने खुला नै थियो । महिलाले शौच गर्दा भने खुला रहेको माथिको भागबाट एकाएक मोबाइलको ‘लाइट’ बल्यो । 

महिलालाई शंका लाग्यो पुरुष शौचालय छिरेका कसैले आफ्नो गोप्य भिडियो त बनाएन रु  हतार–हतार शौचालय बाहिर आएर महिला रेष्टुरेन्टको काउन्टर पुगिन् । उनले रेष्टुरेन्ट सञ्चालकसँग सीसी क्यामेरा हेर्न लगाइहालिन् ।

सीसीक्यामेरामा डीएसपी केसी त्यसैबला शौचालयभित्र प्रवेश गरेको देखियो । ती युवतीले सञ्चालकलाई डिएसपी केसीलाई काउन्टरमै बोलाइदिन अनुरोध गरिन् । सोधपुछ गरिदिन आग्रह गरिन् । युवतीले डीएसपी केसीलाई काउन्टरमै बोलाएर सोधपुछ गरे ।

तर, केसी आफूले कसैको फोटोरभिडियो नखिचेको जवाफ दिए ।

जब फोनमा भेटियो युवतीको अस्लील फोटो


डीएसपी केसीले आफूले फोटो नखिचेको बताए पनि युवतीले उनीमाथि शंका गरिरहेकी थिइन् । ती युवतीसँगै आएका पुरुषले केसीको फोन चेक गर्ने प्रसाय गरे । केसीले त्यसमा पनि सहमति जनाए ।उनले खिचेको भिडियो र फोटो रेष्टुरेन्टमा हल्ला हुनसाथ डिलिट गरेसकेका थिए । आईफोन बोकेका केसीले ती युवालाई आइफोनको ‘लक’ खोलर हेर्न दिए ।

फोटो ग्यालरीमा युवतीको फोटो भेटिएन । ती पुरुषले केसीको आईफोनको रिसेन्ट डिलिट अप्सन चेक गरे । त्यहाँ ती पुरुषले युवतीको दुईवटा अस्लील फोटो र एक भिडियो फेला पारे ।

फोटो र भिडियो फेला परेपछि भने युवतीले प्रहरीलाई खबर गरे ।  युवतीकै उजुरी पछि डीएसपी केसी पक्राउ परेका हुन् । शुक्रबार भने स्वयम्भु प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय बुझाएको छ ।