दीपेन्द्रसिंह ऐरीले लिए नेदरल्यान्ड्सका ओपनरको विकेट

दीपेन्द्रसिंह ऐरीले लिए नेदरल्यान्ड्सका ओपनरको विकेट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ। 

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सको नेपालले नवौं ओभरमा पहिलो विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरे। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। पहिलो विकेट जाँदा नेदरल्यान्ड्सले ८।४ ओभरमा ६१ रन जोडेको थियो।

नेपाल १७२ रनमा अलआउट

नेदरल्यान्ड्सविरूद्ध मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल १७२ रनमा अलआउट भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भयो।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे। सातौं विकेटको रुपमा आउट भएका कुशलले मध्यक्रमका ब्याटरबाट राम्रो साथ पाउन सकेनन्। 

अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।

आसिफ आउट भएपछि ब्याटिङमा आएका अनिल साह चल्न सकेनन्। उनी ७ रनमा आउट भए। दुई ओभरपछि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो। त्यतिबेला नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदा ५४ रन जोडेको थियो।

कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे। 

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए. डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टामा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए। त्यतिबेला ऐरीले क्रिज छाडेका थिए।

दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए। यस्तै गुल्सन झा पनि ५ रनमा दत्तको बलमा क्याच भए। 

आरिफ शेखले २२ रन जोडे। उनले करण केसीसँग ३६ रनको साझेदारी गरेका थिए। ४९ ओभरमा आउट हुनुअघि उनले ५० बलमा १ चौका हिर्काए।

करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि २६ रन जोडे। उनले २७ बलमा १ चौका र २ छक्का हिर्काउँदा नेपालले १५० रन कटाएको थियो।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्मा र अर्यन दत्तले ३(३ विकेट लिए। डि लीडले २ विकेट लिन सफल भए।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले एक जित र दुई हार ब्यहोरेको छ। नामिबियासँग भएको दुवै खेलमा पराजित भएको थियो नेपालले नेदरल्यान्ड्सविरूद्धको पहिलो भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध दुई र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहितअंक  तालिकाको शीर्ष स्थानमा छ। एक एक जित निकालेका नेपाल र नेदरल्यान्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।