वीच सडकमै रुख राखेर कालोपत्रे

वीच सडकमै रुख राखेर कालोपत्रे

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाको सी गाउँ डाडाँटोलदेखि डी गाउँ हुँदै कम्पनी टोल सम्म कालोपत्रे गरिएको ४ किलोमिटर सडकमा १० वटा रुख छन् ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको यस सडकको बीच भागमै रहेका ती रुखहरु नहटाएरै कालोपत्रे समपन्न गरिएको छ । गत चैत महिनामा सम्पन्न गरिएको सडकको निमार्णको जिम्मा पाएको के. एस. कन्स्ट्रक्सनले आफुले काम सम्पन्न गरिसक्ने अवधि सकिन लागेकोले रुख हटाउने निर्णय नकुरेरै सडक कालोपत्रे गरिदियो । 
धनगढी उपमहानगरपालिकाकै बडा नम्बर ७ को मनेहरा शिबिर देखि उत्तरतिर देवहरिया बनस्पति उद्यान हुँदै पश्चिम कैलाली बहुमुखी क्याम्पसको पूर्वपट्टि बाट वडा नम्बर ६ जोड्ने सडक पनि कालोपत्रे गरिएको छ । यो सडकमा बीच भागमा र किनारतिर गरेर ३२ वटा रुख छन् । सडकको क्षेत्रमा पर्ने ३२ मध्ये २० रुख बीच मागमै छन् ।

कालोपत्रे गरिसकिएको यस सडकमा ठूला गाडीहरुलाई रुख छलेर जान निकै हम्मे हम्मे पर्छ । ७ मिटर चौडाई कायम गरि कालोपत्रे गरिएको यो सडक समेत निर्माण गर्ने जिम्मा के. एस. कन्स्ट्रक्सनकै हो । २०७३ सालमा सम्झौता गरिएको यो सडक २०७६ असार मसान्तमा निर्माण सम्पन्न भइसक्नुपर्ने बाध्यताका कारण निमार्ण कम्पनीले रुख नहटाएपनि कालोपत्रे गरेको हो ।

 के. एस. कन्स्ट्रक्सनले मात्रै सघन शहरी अन्तर्गत पहिलो चरणमा निर्माण भइरहेको ४२ किलोमिटर मध्ये १६.९ किलोमिटरमा काम गरेको छ । अहिले उसले आफुले गरेको सम्झौता अनुसार सबै क्षेत्रमा कालोपत्रे गरिसकेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ बोराडाँडी देखि फाप्लासम्मको सडक पनि के. एस. कन्स्ट्रक्सनले नै बनाएको हो । कम्पनीका प्रमुख इन्जिनियर अमर सिंह ऐर आधारभूत तहको काम सकेर रुख कटानकै लागि ५ महिना जति कुर्दा पनि रुख कटानको आदेश नआएपछि आफुहरुले कालोपत्रे सम्पन्न गरेको बताउँछन् । 
धनगढीको वडा नम्बर ४ मा रहेको तुलसी चोकदेखि भगवती टोलसम्मको सडक कालोपत्रे सम्पन्न भइसकेको छ । जहाँ १ किलोमिटरको बाटोमा ५ वटो रुख छन् । सडकको किनारमा बनेको ढलको भित्र पट्टी गरेर त्यहाँ १३ भन्दा बढी रुखहरू छन । 
सघन शहरी अन्तर्गत पहिो चरणमा निर्माण हुने ४२ किलोमिटर सडकमा साना र ठूला गरी २ सय ८४ रुख छन् । पहिलो चरण अन्तर्गत २०७६ असार मसान्त सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सबै सडकमा धमाधम काम भइरहेको छ । काम गराईको गति हेर्दा सबै सडक असार मसान्तसम्म निर्माण भइसक्ने छन् । तर रुखहरु काट्ने अनुमति अझै आइसकेको छैन् । 
सघन शहरी विकास कार्यक्रम को मात्रै होइन उपमहानगर आफैले निर्माण गर्ने सडकको वीचमा समेत रुखहरु छन् । बीचमा पर्ने रुखले सडक निमार्णमा अवरोध गर्ने भएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले आफै अग्रसर भएर रुख काटिदिए । रुख काटेपछि सडक निर्माणको काम त अगाडि बढ्यो, तर वडा अध्यक्ष चौधरी अहिले वन मुद्धा खेपिरहेका छन् । 
दोस्रो संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २०७१ र २०७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने सडक कालोपत्रे भयो । तत्कालीन जिल्ला विकास समिति मार्फत निर्माण भएको यस सडकमा वीच भाग र किनार गरी ३१ वटा रुख छन् । यस्ता रुखहरु यात्रुका लागि धराप बनेका छन् । यही सडकको एक रुखमा मोटरसाइकल ठोकिकदा दुई बर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का २४ बर्षिय खुशीराम चौधरीको ज्यान समेत गयो । साना दुर्घनाबाट घाइते  हुनेको संख्या पनि निकै छ । 
धनगढी उपमहानगरपालिकाको निर्माणाधीन चक्रपथसहित अन्य निर्माणधीन तुलसीपुर–भगवती टोल सडक, जाली–उत्तरखिम्लिना सडक, पिपल चौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख यथावत् छन् । 
रुख काट्न वन तथा वातावरण मन्त्रालयको अनुमति चाहिने प्रावधान छ । बन क्षेत्र प्रदेश सरकारको मातहत आए पनि प्रदेशले निर्माण आयोजनाका लागि रुख कटान गर्नेे आदेश दिने गरी कुनै कानूनी ब्यवस्था छैन् । त्यसकारण धनगढी उपमहानगर भित्रका निमार्णधीन सडकहरुमा पर्ने रुखहरुको लगत संकलन गरी कटान आदेशका लागि संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा अनुरोध गरी पठाइएको छ ।

यस्तो अनुरोध गरेको पनि दुई बर्ष भइसकेको छ । तर हालसम्म कटान आदेश नआउँदा वीच सडकमा रुख राखेरै कालोपत्रे गरिएको छ । सरकारी निकायबीच आपसमा समन्वय नहुँदा बीच सडकमै रुख राखिएको धनगढी उपमहानगर वडा नम्बर १२ को सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहका पूर्व अध्यक्ष प्रयागराज जोशी बताउँछन् । आफ्नो कार्यकालमा नै सडक निमार्ण शुरु भएको बताउँदै उनले आफुले मात्रै जिल्ला वन कार्यालयसित सामुदायिक बनलाई रुख काट्ने अनुमति दिन पटक पटक आग्रह गरेको बताए । “माथिबाट अनुमति आउँदा समय लाग्ने भएकोले बीच सडकमा रहेका रुखहरु जो सुकेका छन् तिनलाई मात्रै भए पनि काट्न अनुमति माग्दा पनि पाइएन”,–उनले भने । 
सरकारी निकायमा एकले गरेको काममा अर्काले सहयोग गर्ने नभई भाँजो हाल्ने प्रवृति रहेको धनगढी उपमहानगर वडा नम्बर ७ मा रहेको मनेहरा सामुदायिक बनका अध्यक्ष मोती राना बताउँछन् । “सबै रुखहरु काटेर सडक बनेको भए दुर्घटनाको जोखिम कम हुन्थ्यो, तर सरकारी निकाय वीच समन्वयको अभावले जनताको ज्यान जोखिममा प¥यो”,–अध्यक्ष रानाले भने ।

लामो समय सम्म पनि रुख काट्ने अनुमति माग्दा पनि नपाइएपछि रुख राखेरै भएपनि कालोपत्रे गर्ने अवस्था आइलागेको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड बताउँछन् । मेयर वडले भने, “सडकको वीचमा रहेको रुखहरु काट्ने अनुमति माग्दा पनि नपाइएपछि पछि अनुमति आउने वित्तिकै रुख काट्ने गरी अहिले सडक निर्माण गर्ने काम गरिएको हो ।” यसरी सडक बनाउँदा दुर्घटनाको जाोखि रहने जानकारी हुँदाहुँदै पनि काम गर्नुपर्ने वाध्यता रहेको उनले बताए । वन मन्त्रालय नेपालको नभएर अन्य कुनै विदेशी मुलुकको जस्तो भएर हामी माथि शासन गरिरहेको र त्यस मन्त्रालयका कर्मचारी पनि विदेशी नागरिक जस्तै ब्यवहार गर्ने गर्छन्”–उनले भने ।