त्रिनगर माविको ४७ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

त्रिनगर माविको ४७ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

धनगढी । धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयले पढाईको गुणस्तरमा तरक्की  ल्याएको भन्दै अभिभावक र अतिथीहरुले प्रशंसा गरेका छन् ।

शुक्रवार सम्पन्न भएको त्रिनगर माध्यमिक विद्यालयको ४७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै अभिभावकहरुले विद्यालयको प्रशंसा गरेका हुन । कार्यक्रमको प्रमुख अतिथी रहेका सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डाक्टर हेमराज पन्तले कोशिस गरेमा परिवर्तन सम्भव हुने रहेछ भन्ने कुराको उदारण त्रिनगर मावि भएको बताए ।

त्रिनगरमा भूपाल सिंह खड्का प्रअ भएपछि वहाँको नेतृत्वको शिक्षक टिमले त्रिनगरको मुहार परिवर्तन गरिदिएको छ पूर्व क्याम्पस प्रमुख डाक्टर पन्तले भने,‘अहिले त्रिनगर अनुशासन, संस्कार र गुणस्तरीय पढाईको हव भएको छ ।” त्रिनगर माविमा २ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेछन् पूर्व क्याम्पस प्रमुख डाक्टर पन्तले भने,‘ गुणस्तरीय पढनपाठन हुने भएकाले नै विद्यार्थीको आकर्षण बढेको हो । ” उनले भर्खरै मात्र कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन हुनआउनु भएकोले अझै विद्यालयले गुणस्तर सुधार हुने बताए ।

धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले त्रिनगर पठनपाठनमा मात्रै नभएर हरेक बिषयमा उत्कृष्ठ शिक्षा दिने थलो भएको बताए । उनले भने,‘विद्यालयको गुणस्तार सुधारका लागि अभिभावकहरुको भूमिका अहम् हुन्छ ।” त्रिनगर माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर चन्दले आफ्नो कार्यकाल भरी विद्यालयको चौतर्फी विकासका लागि क्रियाशिल रहने बताए ।

उनले भने, ‘ यसका लागि अभिभावकहरुको पनि साथ आवश्यक हुन्छ ।” कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट, सारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंह लगायतले त्रिनगर धनगढीको उदारणिय विद्यालय भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपाल सिं खड्काले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक खड्काले त्रिनगर माध्यमिक विद्यालयको प्रगतीमा सबै तहका सरकार, अभिभावक, शिक्षक, विद्यार्थी सबैको रहेको बताए । समारोहमा उत्कृष्ठ शिक्षकको रुपमा कक्षा ११ र १२ मा इन्चार्ज नेत्रबहादुर खडायतलाई सम्मान गरिएको थियो ।

फागुन ४ गतेबाट बार्षिकोत्सव कार्यक्रमका बिभिन्न गतिविधी गर्दै आएको त्रिनगरले शुक्रवार भब्य कार्यक्रमको आयोजना गर्दै आफ्नो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । बार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले बिभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । बिभिन्न खेल विद्यामा प्रथम, द्धितिय र तृतिय विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्रिनगरमा कक्षा ११ र १२ तर्फ मानविकी, शिक्षा, कानुन र ब्यबस्थापन संकायको पठनपाठन हुने गर्दछ ।