अछाममा नेकपाको शपथग्रहण सम्पन्न

अछाममा नेकपाको शपथग्रहण सम्पन्न

अछाम : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १ सय ४५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गरेका हुन् ।

शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ९० तथा पूर्वमाओवादी केन्द्रबाट ५५ जिल्ला कमिटी सदस्य छन् । उनिहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवरले बताए । जिल्ला सदस्यको शपथसँगै अछाममा नेकपा जिल्ला कमिटी अछामले पूर्णता पाएको छ ।

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट शेर बहादुर कुवर र सचिवमा पूर्वमाओवादी केन्द्रबाट झपट साउदले जिम्मेवारी पाएर शपथग्रहण भइसकेको छ ।