जिल्ला सहकारी संघ कैलालीः नियमविपरित कर्मचारी राख्नेदेखि भत्ता रकम असुल

जिल्ला सहकारी संघ कैलालीः नियमविपरित कर्मचारी राख्नेदेखि भत्ता रकम असुल

धनगढी । जिल्ला सहकारी संघ कैलालीमा वर्तमान नेतृत्वको कार्यसमितिले नियम विपरित कार्य गरेको पाइएको छ ।

सहकारीका अध्यक्ष फणी सापकोटा नेतृत्वको समितिले नियमविपरित कर्मचारी राख्नेदेखि भत्ता समेत नियम विपरित लिएको पाइएको हो ।

शुक्रबारदेखि शुरु भएको सहकारीको २४ औं वार्षिक साधारण सभामा अध्यक्ष सापकोटाले मनोमानी ढंगले सहकारी सञ्चालन गरेको आरोप लागेको छ । नियम अनुसार सहकारीको पदाधिकारी र लेखा समितिमा एकै परिवार हुन नपाउने व्यवस्था रहेको छ ।  

अध्यक्ष सापकोटाले दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष सम्हाली सकेका छन् । सोही समयमा उनले आफनो बुहारीलाई संघमा व्यवस्थापनको जिम्मेवारी दिएका छन् । एकै परिवारका पदाधिकारी र व्यवस्थापनमा हुँदा आर्थिक सुशासन कायम नभएको संघका प्रतिनिधिहरुको गुनासो रहेको छ ।

सहकारीले आर्थिक वर्षको लागि वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्ने, आन्तरिक कार्यविधि पारित गर्ने, पारिश्रमिक लगायतका सुविधा तोक्ने, बाह्य दायित्व स्वीकार गर्ने लगायतको प्रावधान रहेको छ ।

तर, सापकोटाले लेखापरिक्षणमा साधारण सभा खर्च उल्लेख गरेनन् । उनको आर्थिक प्रतिवेदनमा शेयर सदस्यबाट उठेको रकम पनि उल्लेख छैन् । नियमअनुसार शेयर सदस्य रकम खर्च गर्न नपाउने व्यवस्था रहेको छ । संघको सार्वजनिक प्रतिवेदनमा आम्दानी विवरणमा प्रवेश शूल्क, तालिमबाट प्राप्त, घर तथा जमिन भाडा, बिजुली बत्ती, रजिष्ट्रार कार्यालयबाट तालिमबापत, विविध, अन्य आम्दानी र बैंक ब्याज प्राप्त गरि यस वर्ष ३४ लाख ८९ हजा छ सय ८३ रकम रहेको छ ।

सदस्यले भत्ता रकम बुझ्दा साधारण सभाबाट अनुमोदन गराउने प्रावधान रहेपनि त्यो पनि नभएको पाइएको छ ।

संस्थाको खर्चमा इन्धन तथा यातायातमा एक लाख ४४ हजार ७० रुपयाँ खर्च भएको उल्लेख छ । संघका सदस्यहरु भन्छन् –‘आफनै सवारी साधन छैन । इन्धन कहाँ र किन खर्च भयो ।’

सहकारी गत वर्ष वचतमा १५ लाख ८३ हजार दुई सय ६६ रकम नोक्सानी देखाएकोमा यस वर्ष सो घाटा बढेर १६ लाख एक हजार सात सय ६९ रहेको छ । यससंगै सहकारीको दायित्व यस वर्ष दुई लाख ६८ हजार ३७ पुगेको छ ।

जिल्ला सहकारीमा चार सय बढी प्रतिनिधिहरु रहेका छन् ।

नयाँ अनुहार खोज्दै प्रतिनिधि

लामो कार्यकालदेखि सापकोटा नेतृत्वको टोलीले जिल्ला सहकारी सञ्चालन गर्दा प्रतिनिधिहरु असन्तुष्ट रहेका छन् । सभामा उनीहरुले सदस्यतामा विभेद, आर्थिक पारदर्शी नभएको लगायतको आरोप लगाउँदै नयाँ अनुहारलाई जिम्मेवारी दिने बताइरहेका थिए ।

बन्द सत्र चलिरहँदा उनले यस अवधिमा गरेका कमजोरीबारे प्रतिनिधिहरुले प्रश्न चिन्ह खडा गरे । सो अवसरमा बोल्दै सापकोटाले सहकारी नियमअनुसारनै आफुहरुले काम गर्दै आइरहेको बताए । उनले आफुहरुले कुनै पनि अनियमितता नगरेको स्पष्टीकरण व्यक्त गरे । उनले भने –‘मेरो कार्यकालमा न कुनै होटलमा खर्च रहेको छ । न त मैले कुनै अनावश्यक खर्च गरेको छु ।’

जिल्लामा सहकारीको पुँजी ६० करोड

जिल्ला सहकारी संघ कैलालीका अनुसार सहकारी संस्थाहरुको शेयर पुँजी ६० करोड रहेको जनाइएको छ ।

जिल्लामा निक्षेप रकम चार अर्व, ऋण लगानी चार अर्व छ करोड, कोष रकम ५१ करोड ३१ लाख, अनुदान रकम १६ करोड ४३ लाख रहेको छ । शेयर सदस्य संख्या महिला ७१ हजार आठ सय र पुरुष ८९ हजार चार सय ५३ गरि एक लाख ६१ हजार दुइ सय ५३ रहेको छ । सहकारीबाट प्रत्यक्ष रुपमा चार सय ५४ महिला र छ सय ७३ पुरुष गरि एक हजार एक सय २७ जना रोजगार रहेको संस्थाले जनाएको छ ।

साधारण सभा नगर्ने सहकारी निगरानीमा छन–मन्त्री चौधरी

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सहकारीमा भइरहेका वेथितिलाई नियमन गर्न मन्त्रालय लागि रहेको बताएका छन् ।

२४ औं साधारण सभाको समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन मन्त्रालयले नियमनका उपायहरु तयार गरिरहेको बताएका हुन् ।

उनले साधारण सभा नगर्ने सहकारीको निगरानी, दर्ता बिना सञ्चालन भइरहेका सहकारीको अभिलेख राख्ने लगायतका कार्य मन्त्रालयले गरिरहेको बताए । उनले तीन तहमा सहकारी दर्ता अधिकार प्रत्यायोजन भइसकेपछि सहकारीका नाममा ठगि हुने क्रम बढ्दै गएको बताए ।

उनले विशेषतः स्थानीय तहमा दर्ता गर्ने र सदस्यहरुबाट पैसा संकलन गरिसकेपछि बन्द गर्ने प्रवृति अहिले सहकारीमा मौलाएको देखिएको बताउँदै –‘सुदूरपश्चिम प्रदेशमा त्यो प्रवृति अहिले नदेखिएपनि तर, सहकारीप्रति आम नागरिकको विश्वास घट्दै गइरहेको देखिन्छ । यो विश्वासलाई कायम गर्न सहकारीले इमान्दारिता कायम गर्न जरुरी रहेको छ ।’