मौसम परिवर्तनसँगै नाक, कान र घाँटीमा हुने समस्या र बच्ने उपाय

मौसम परिवर्तनसँगै नाक, कान र घाँटीमा हुने समस्या र बच्ने उपाय

काठमाडौँ । मौसम परिवर्तनसँगै शरीरका विभिन्न भागमा सङ्क्रमण हुने जोखिम हुन्छ।  विशेषगरी रुघाखोकी लाग्ने र  कान दुख्ने समस्याहरु प्रायस् जाडो मौसममा हुने गर्छ।

जाडो मौसममा घाँटीमा भाइरल संक्रमण, घाँटी सुख्खा हुने, खोकी लाग्ने जस्ता समस्या बढी हुन्छ। चिसो हावाले घाँटी सुख्खा बनाउँछ र असजिलो गराउँछ। जब मान्छेले नाक बन्द भएर मुखबाट श्वास फेर्छ, त्यतिबेला  समस्या बढ्छ र एलर्जी भई खोकी लाग्ने हुन्छ।

त्यस्तै चिसोमा घाँटीमा संक्रमण भएर दुख्ने सम्भावना हुन्छ। चिसोको समयमा भाइरस बढी सक्रिय हुनुका साथै मानिसहरु पनि नजिक–नजिक बस्ने हुँदा छिटो सर्ने सम्भावना हुन्छ।

रक्तसञ्चार कम हुने हुनाले जाडो मौसममा रोगविरुद्ध लड्ने क्षमता कम हुन्छ। जाडोमा नाक बन्द हुने, रगत बग्ने, सिंगान आउने जस्ता समस्या बढी हुन्छ।

चिसो मौसममा नाक भित्रका भाग सुख्खा हुने हुँदा रगत बग्ने सम्भावना बढी हुन्छ।

सुख्खा हावालाई नाकभित्र ओसिलो गराउने क्रममा नाक भित्रका ग्रन्थीहरुले म्युकस उत्पादन गर्छन्। जसका कारण सिंगान बढी आउने, नाक बन्द हुने समस्या बढी हुन्छ।

जाडो मौसममा कान दुख्ने, पाक्ने जस्ता समस्या बढी हुन्छ। नाक, घाँटीका संक्रमण भित्री नलीमार्फत फैलिएर कानको भित्री भागमा पुग्छन् र संक्रमण भई दुख्ने समस्या हुन्छ।

चिसोमा रक्तसञ्चार कम भई कानको बाहिरी भाग पनि दुख्ने गर्छ।

बच्ने उपाय
– सकभर चिसोमा नहिँड्ने,
– न्यायो कपडा लगाउने, कान पनि छोप्ने,
– सुख्खा छालामा मोस्चराइजर वा भ्यासलिन प्रयोग गर्ने,
–  नाक कोट्याउने बानी हटाउने,
– नाक सुख्खा हुन नदिन नाकभित्र भ्यासलिन प्रयोग गर्ने,
– प्रशस्त पानी पिउने,
– रोग विरुद्ध लड्ने क्षमता बढाउन फलफूल, सागसब्जी, माछामासु, अण्डा खाने,
– शारीरिक व्यायाम तथा योग गर्ने,
– समस्या बढी भएमा नाक कान तथा घाँटी रोग विशेषज्ञसँग स्वास्थ्य परामर्श तथा उपचार गराउने।