त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

 त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको उल्लेख छ ।