युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्ध अमेरिकाले लगायो भिटो

युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्ध अमेरिकाले लगायो भिटो

गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्ध अमेरिकाले भिटो  प्रयोग गरेको छ । अमेरिकाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै भिटो प्रयोग गरेको हो । त्यसअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अल्जेरियाले गरेको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता बिथोलिन सक्ने अमेरिकाको तर्क छ । राष्ट्रसङ्घको १५–सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका छन्। बेलायत मतदान प्रक्रियामा सहभागी भएन । सुरक्षा परिषद्बाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ ।

युद्धविरामको प्रस्ताव पारित भयो भने इजरायलले त्यो अस्वीकार गर्न पाउँदैन । त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ । चीनले अमेरिकी भिटोको भर्त्सना गर्दै त्यसले गलत सन्देश दिएको र हत्या गर्ने काम जारी राख्न बाटो खोलिदिएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरालका कतिपय साझेदार देशले समेत भिटो  प्रयोग गर्ने अमेरिकी कामको विरोध गरेका छन् । अमेरिकाले दर्ता गरेको छुटै प्रस्तावमा अस्थायी युद्धविरामका लागि सबै बन्धकहरू रिहा गर्नुपर्ने र गाजातिर पठाइने सहायता रोक्ने अवरोध हटाइनुपर्ने उल्लेख गरेको छ ।

इजरायलले ठूलो क्षति हुने गरी चलाएको सैन्य कारबाही रोक्न आफ्नो शक्ति प्रयोग गर्नका लागि अमेरिकामाथि अन्तर्राष्ट्रिय दबाब छ । तर अमेरिकाले इजरायलसँग आत्मरक्षाको अधिकार रहेको जोड दिँदै आएको छ ।