सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक (जिल्लागत तथ्यांक सहित)

सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक  (जिल्लागत तथ्यांक सहित)

सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जारी गरेको सन् २०२३ को प्रतिवेदनले सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक देखाएको हो । साथै सुदुरपश्चिम प्रदेशमा सामाजिक विभेद तथा सामाजिक कुरीतिले अझै जरा गाडेर बसेको देखिएको छ । सुदुरपश्चिम प्रदेशमा सन् २०२३ मा कुल १ हजार १ सय ९० वटा ज्यादतीका घटना भएको अनौपचारिक सेवा केन्द्र (ईन्सेक)ले जनाएको छ । 
 जिल्लागत रुपमा हेर्दा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेको मुख्य समस्या र ज्यादतीका घटनाको विवरण यस प्रकार रहेको छ , 
बाजुरामा
सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा बालबालिकामा उच्च कुपोषण दर रहेको पाइएको छ । चाहिने भन्दा न्युन पोषक तत्व भएको पाइएको हो । बाजुरामा पेटभर खान नपाउनु मुख्य समस्या रहेको छ । आफ्नो उत्पादनले तीन महिना मात्रै खान पुग्ने परिवारकोे संख्या ४० प्रतिशत र वर्षभर खान पुग्ग्ने परिवार संख्या १० प्रतिशत मात्रै रहेका ईन्सेकले जनाएको छ । सन् २०२३ मा बाजुरामा मानव अधिकार उल्लंघनका घटनामा १ जना पुुरुष तथा ज्यादतीमा घटनामा ६१ जना महिला र ५ जना पुरुष पीडित भएका, बाल अधिकार उल्लंघनका घटनामा ५ जना बालिका तथा महिला अधिकार उल्लंघनका घटनामा ४८ जना पीडित भएका छन् । 
बझाङमा 
२०८० असोज महिनामा गएको भुकम्पका कारण विस्थापित भएका ४ हजार ३ सय ९३ जना स्थानीयहरुको पुर्नस्थापना हुन नसकेको ईन्सेकले जनाएको छ । भकम्पका कारण १ जनाको मृत्यु, २१ जना घाईते हुनाका साथै १३ वटै स्थानीय तहका ३ सय १५ वटा नीजि आवाश, २१ वटा सरकारी भवन र ३२ वटा विद्यालयमा गरी ३ सय ६८ वटा भौतिक संरचनामा क्षति भएको छ । सन् २०२३ मा बझाङमा ज्यादतीका घटनामा १ सय ४९ जना महिला र ३ जना पुरुष पीडित भएका ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा ४ जना बालिका तथा महिला अधिकार उल्लंघनका घटनामा १ सय ४४ जना महिला पीडित भएका छन् । 
दार्चुलामा 
सन् २०२३ मा जोखिम मोलेर यार्सागुम्बा संकलनका लागि हिडेका ४ जना बालबालिकासहित १० जनाले ज्यान गुमाएका छन् । सन् २०२३ मा दार्चुला जिल्लामा ६० जना महिला र एक जना पुरुष पीडित भएको ईन्सेकको अभिलेखमा उल्लेख गरिएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा तीन जना बालिका तथा महिला अधिकार उल्लंघनका घटनामा ५६ जना महिला पीडित भएका ईन्सेकले जनाएको छ ।  
बैतडीमा
बालविवाह ठुलौ चुनौतीका रुपमा रहेको पाइएको छ । मुलुकै बाल विवाह हुने पाच जिल्लामध्ये बैतडी पनि एक हो । सन् २०२३ मा बैतडी जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा एक जना पुरुष तथा ज्यादतीका घटनामा ४८ जना महिला र ५ जना पुरुष पीडित भएको इन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उंल्लघनका घटनामा ७ जना बालिका तथा महिला अधिकार उल्लंघनका घटनामा ४० हजा महिला पीडित भएका छन् । 
डडेल्धुरामा
सुत्केरी र महिनावारी भएको समयमा गाईभैसीको दुध, दही लायतका पोसिला खानेकुरा खान नपाइ रहेको पाइएको छ । सन् २०२३ मा डडेल्धुरा जिल्लामा ज्यादतीका घटनामा ५० जना महिला र २ जना पुरुष पीडित भएका ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा २ जना बालिका तथा महिला अधिकार उंल्लंघनका घटनामा ४६ जना महिला पीडित भएका छन् । 
डोटीमा 
हलिया मुक्ति घोषणा भएको १५ वर्ष पुर भएको भएपनि अझै मुक्त हलियाहरुको व्यवस्थित पुर्नस्थाना हुन नसकेको पाइएको छ । परिचय पत्र पाएका १ हजार २ सय १० मुक्त हलिया परिवारहरुको पुर्नस्थापना हुन सकेको छैन् । सन् २०२३ मा डोटी जिल्लामा ज्यादतीका घटनामा ३६ जना महिला पीडित भएका ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा ३ जना बालिका तथा महिला अधिकार उंल्लंघनका घटनामा ३३ जना महिला पीडित भएका छन् । 
अछाममा
अछाम जिल्लालाई छाउगोठ भत्काएर छाउगगोठ मुक्त जिल्ला घोषणा गरिएको भएपनि अझै पनि महिनावरी भएको समयमा घर भन्दा टाढा कटेरो वा गोठ बनाएर राख्ने चलन कायमै रहेको पाइएको छ । सन् २०२३ मा अछाम जिल्लामा ज्यादतीका घटनामा ५५ जना महिला र ९ जना पुरुष पीडित भएका ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा ५ जना बालिका तथा महिला अधिकार उंल्लंघनका घटनामा ४६ जना महिला पीडित भएका छन् । 
कैलालीमा
कैलालीमा मुक्त कमैयाहरुको न्यायोचित र व्यवस्थित पुर्नस्थापन हुन नसकेको पाइएको छ । कैलाली जिल्लामा ३ हजार ६ सय ४२ जना मुक्त कमैयाहरुलाई रातो परिचय पत्र र ४ हजार ७ सय ३१ मुक्त कमैयाहरुलाई नीलो परिचय पत्र उपलब्ध गराएको थियो । ८ हजार २२ जनाको मात्रै पुर्नस्थापना गरिएको भएपनि ९ सय ५३ जना मुक्त कमैयाको पुर्नस्थापना हुन बाकी रहेको छ । सन् २०२३ मा कैलाली जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा १ जना महिला र ४ जना पुरुष तथा ज्यादतीका घटनामा ३ सय ८७ जना महिला र १२ जना पुरुष पीडित भएको ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा ३९ जना बालिका तथा महिला अधिकार उंल्लंघनका घटनामा ३ सय ४३ जना महिला पीडित भएका छन् । 
कञ्चनपुरमा
सन् २०२३ मा कञ्चनपुर जिल्लामा ज्यादतीका घटनामा ३ सय जना महिला र ४ जना पुरुष पीडित भएका ईन्सेकले जनाएको छ । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा १८ जना बालिका तथा महिला अधिकार उंल्लंघनका घटनामा २ सय ८४ जना महिला पीडित भएका छन् ।