नेपाल–युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुँदै, नेपाली कामदारलाई के फाइदा?

नेपाल–युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुँदै, नेपाली कामदारलाई के फाइदा?

स्विट्जरल्याण्डको जेनेभामा जारी १०८औं अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आज नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्।

त्यहाँको स्थानीय समय अनुसार दिउँसो १२ः३० बजे (नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे) समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।

गत अप्रिलको अन्तिम साता नेपालबाट युएईसँग नयाँ श्रम समझदारीका बारेमा छलफलका लागि युएई पुगेको टोलीले समझदारीका मस्यौदामाथि छलफल गरी समझदारी हुने निश्चित टुंगो लगाएको थियो।

समझदारीका बुँदामा हस्ताक्षर गर्न मात्रै बाँकी थियो। सोही समझदारीका बुँदामा आज दुईपक्षीय हस्ताक्षर हुने भएको हो। 

नेपाली कामदारलाई के फाइदा?
यसअघि सन् २००७ मा नेपालले युएईसँग गरेको श्रम समझदारी प्रभावकारी हुन नसकेपछि सो पुरानो समझदारीलाई प्रतिस्थापन गरी नयाँ समझदारी गर्न लागिएको हो। समझदारीपछि नेपाली कामदारहरु आइएलओ मापदण्ड अनुसार जान पाउनेछन्। 

कामदारहरुले कुनै पनि आर्थिक भार बेहोर्नु पर्दैन। भिसा तथा टिकट लगायत सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्नेछ। 

युएईमा रोजगारीका लागि जाने महिला कामदारहरुको हकहितका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपाय सुनिश्चित हुनुपर्ने विषय समझदारीका बुँदामा समेटिएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

समझदारीका मस्यौदाको टुंगो लगाउन सहसचिव घिमिरे सहितको टोली युएई पुगेको थियो। 

त्यस्तै युएईमा काम गर्ने नेपाली श्रमिकले युएईकै नागरिक सरह सेवा सुविधा तथा तलब पाउनेछन् भने आफ्नो राहदानी कामदार आफैँले राख्न पाउनेछन्। 

कार्यस्थलमा हुने दुर्घटनाका लागि दुर्घटना बिमा एवं उपचार दुवैको व्यवस्था गरिएको छ। कामदारहरुलाई बिरामी तथा आकस्मिक बिदासमेत उपलब्ध गराइनुपर्ने उल्लेख छ। 

शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएसँगै छिटोभन्दा छिटो कार्यान्वयन पक्षलाई टुंगो लगाउन दिन दुई देशका प्रतिनिधिहरु संलग्न संयुक्त बैठक तय गरिने श्रम मन्त्रालयले जनाएको छ। नेपाली श्रमिकहरुका गन्तव्य मुलुकमध्ये युएई पनि तेस्रो गन्तव्य मुलुक रहँदै आएको छ। 

युएईमा २ लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ।