अत्यधिक चिसोका कारण साढे छ लाख वटाभन्दा धेरै पशु मरे

अत्यधिक चिसोका कारण साढे छ लाख वटाभन्दा धेरै पशु मरे

मङ्गाेलियामा अत्यधिक चिसोका कारण साढे छ लाख वटाभन्दा धेरै पशु मरेका छन् । मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले यो वर्षको चिसोमा अहिलेसम्म छ लाख ६७ हजार आठ सय ४१ वटा पशु मरेका जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गोलियाका २१ वटा प्रान्तमध्ये पूर्वी सुखबाटर, खेंती, डोर्नोड र डोर्नोगोवीमा जनावरहरूको मृत्युको दर सबैभन्दा बढी छ । त्यहाँ अत्यधिक चिसोका कारण जमिनसमेत जमेको छ । हजारौँ भेडा, गधा, चौरीगाईलगायतका पशु बरफ जमेजस्तै जमेका छन् । मङ्गोलियाको ८० प्रतिशत क्षेत्रमा अहिले एक सय सेन्टिमिटरसम्म हिउँ परेको छ ।

मङ्गोलियामा संसारकै सबैभन्दा धेरै घुमन्ते किसान र पशुपालक रहेका छन् । मङ्गोलियाली सरकारले पीडित घुमन्ते गोठालाहरूलाई सहयोग गर्दै २० हजार टन घाँस र चारा प्रभावित प्रान्तहरूमा पठाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या झन्डै सात करोड थियो ।