बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङ छन् ।

प्रहरीका अनुसार आइतबार विहान उर्लाबारीमा डेरामा बस्ने १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा बलात्कारपछि अर्धचेत भएकी किशोरीलाई गाईगोठमा लगेर छाडेको खुलेको थियो ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ मा रहेको एक  होटलमा लिएर गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

किशोरीलाई गोठमा छाडेर फरार भएका गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक हुन् ।

किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।