आर्यनको कीर्तिमानी ६ विकेटमा नामिबिया १२३ रनमा अल आउट

आर्यनको कीर्तिमानी ६ विकेटमा नामिबिया १२३ रनमा अल आउट

काठमाडौं ।  स्पिनर आर्यन दत्तको कीर्तिमानी ६ विकेटसँगै नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेदरल्यान्ड्सलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १२३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २६ तथा रुवेन ट्रम्पलम्यानले २० रन बनाए ।

निकोलस डेभिन र जेराल्ड इरास्मस १३-१३ रनमा आउट भए ।

चोभार एन्डबाट आएका लेग स्पिनर आर्यन दत्तले टीयुको बीहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेनलाई ४ रनमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे ।

११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए । एक समय ७.२ ओभरमा २०–० को अवस्थामा पुगेको नामिबिया १३ ओभरमा ४४–६ को दयनीय अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि जेन ग्रीन र जेजे स्मिथले ३० रनको साझेदारी गरेका थिए । ग्रीन १९ रनमा क्रसबाट क्याच आउट भएपछि अर्यानले कीर्तिमानी ६ विकेट पूरा गरेका थिए । उनी नेदरल्यान्ड्सबाट ओडीआईमा ६ विकेट लिने पहिलो खेलाडी हुन् । यसअघि नेदरल्यान्ड्सबाट शरिज अहमद, बास डि लिडे र टिम भान डर गुर्टेनले ५-५ विकेट लिए ।

बेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए । आर्यन दत्तले ९ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए । कायल केलिनले दुई, रोलेफ भान डर मर्वे र म्याक्स ओडआउडले १-१ विकेट लिए ।

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यन दत्तले ३ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए । तर आज ६ विकेट लिंदै कीर्तिमान बनाएका हुन् ।