हावाहुरीबाट क्षति पुगेका परिवारलाई नगद राहत दिने उप–महानगरपालिकाद्वारा घोषणा

हावाहुरीबाट क्षति पुगेका परिवारलाई नगद राहत दिने उप–महानगरपालिकाद्वारा घोषणा

धनगढी : बिनासकारी हावाहुरीले क्षती पुगाएको एक सातापछि धनगढी उप–महानगरपालिकाको २३ औँ कार्यपालिका बैंठकले बिनासकारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई नगद राहत दिने निर्णय गरेको छ।

बिहीबार बसेको कार्यपालिका बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको हो। यसैगरी जेठ २३ गते आएको हावाहुरीमा परेर घाईते भएका उप–महानगरबासीको निशुल्क उपचार गर्ने निर्णय गरेको छ।

पूर्ण क्षति भएका घरधनीलाई ६ हजार, मध्यम क्षति भएकोलाई ३ हजार, पशुपक्षीमा भएको क्षतिलाई ३ हजार र ब्यावसायीक खेतीलाई ३ हजार राहत सहयोग गरिने नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो । ब्यावसायीक खेतीको हकमा कम्तीमा एक बिगाहमा जमिन मापदण्ड राखेको छ।

त्यसैगरी पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँचसय रुपियाँ सहयोग गर्ने निर्णय गरिएको पनि नगरप्रमुख वडले बताए। हावाहुरीमा परेर घाईते भएकाहरुको उपचार खर्च उप–महानगरपालिकाले ब्यहोर्ने छ।

सरकारी अस्पतालमा उपचार गराई रहेकाहरुको खर्च जिल्ला प्रशासन कार्यालयले ब्यहोर्ने भएकाले निजि अस्पतालमा उपचार गराई रहेकाहरुको उपचार खर्च आफुहरुले ब्यहोर्ने निर्णय गरेको नगरप्रमुख वडले बताउनुभयो ।