कञ्चनपुर दुर्घटनाका तिन जना मृतकको सनाखत

कञ्चनपुर दुर्घटनाका तिन जना मृतकको सनाखत

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । स्काभेटरले अटोरिक्सालाई ठक्कर दिँदा बैतडीको देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार दुर्घटनामा परी चार जना घाइते भएका छन् । उनले घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अटो चालक गड्डाचौकीका प्रेम थापालाई भारत रिफर गरिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक बिष्टका अनुसार दुर्घटनामा परी मृत्यु भएका देहीमाण्डौंका बोहराकी श्रीमती २५ वर्षीया लक्ष्मी र उनका अढाई वर्षीय छोरा विशान्त तथा कञ्चनपुरकै बेल्डाँडीका सन्तोष लुहारलाई कैलालीको धनगढी रिफर गरिएको छ । दुर्घटनामा परी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   

शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटरले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।