सचिव पदमा म योग्य छु, शशक्त दाबी रहन्छः चुडामणी भट्ट

सचिव पदमा म योग्य छु, शशक्त दाबी रहन्छः चुडामणी भट्ट

कैलालीको नवौ महाधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुन गइरहेको छ । अध्यक्ष पदमा तिन जनाले इच्छा व्यक्त गरेका छन भने सचिवमा १२ जना रहेका छन् । सचिव पदमा कैलालीको अनेरास्ववियूको नेतृत्व गरिसकेका युवा नेता चुडामणी भट्टले पनि इच्छा जाहेर गरेका छन् । पार्टीको सचिव पदका लागि इच्छा जाहेर गरेका भट्टलाई पार्टीले सर्वसम्मत बनाउँछ वा सचिवबाट पछि हटाउँछ त्यो अधिवेशनमै थाहा हुने छ । तर, अहिले उनी आफ्नो दाबी शशक्त रहेको बताउँदै आएका छन् । यसै विषयमा धनगढी खबरका समाचार सम्पादक शेरबहादुर ऐरले गरेको कुराकानीको सम्पादित अंशः

पार्टीभित्र सहमतिको चर्चा छ तर, आँकाक्षी बढी छन ? यसमा तपाइको भनाई के छ ?

अहिले हाम्रो पार्टीको नवौ जिल्ला अधिवेशनले तीन अर्थ लाग्ने गरि सम्पन्न गर्दैछ । केही दिन अघि पार्टीले नयाँ सन्देश दिने गरि झुलाघाटदेखि मेचिसम्म मध्येपहाडि लोकमार्गमा अभियान गरिसकेको छ । सुदूरपश्चिम हिजोको भन्दा अहिले पार्टी कमजोर भइरहेको बेला कैलाली जिल्लाबाट राजनीतिक सन्देश दिने गरि पार्टीका अध्यक्षको प्रमुख आतिथ्यमा ठुलो जनसभा तथा अधिवेशन सम्पन्न गर्न गइरहेका छौं । 

कैलालीमा पछिल्ला तिन वटा अधिवेशनबाट निर्वाचित नेतृत्व हामी संग रहेनन्  । भोजराज चन्दजी, दीर्घ सोडारी र रतन थापा हाम्रो पार्टीमा हुनु हुन्न । हामीले तिन अधिवेशनबाट निर्वाचित गरेका नेतृत्वनै बाहिर जाने अवस्था भएकोले कैलालीमा पार्टीले जुन गति लिनुपर्ने थियो त्यो हुन सकेन् । पार्टीको आन्तरिक जिवनका सन्दर्भमा होस या जनजिविकालाई सम्बोधन गरेर पार्टीलाई पहिलो शक्ति स्थापित गर्न हाम्रा केही त्रृटी रहेकाले सकेसम्म सर्वसम्मतमा नेतृत्व चयन गर्न अभ्यास  हामीले गरेका छौं । हिजोमात्र उम्मेदवारका इच्छा लिने काम भएको छ । आज र भोली सकेसम्म सर्वसम्म नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । यदि त्यो हुन सकेन भने पार्टीले अंगिकार गरेको लोकतान्त्रिक विधि छ । निस्पक्ष र पारदर्शी रुपमा निर्वाचनको माध्यमबाट भएपछि नेतृत्व चयन भएर जानुपर्छ भन्ने छलफलमा छ । 

पार्टीले तपाईलाई सचिवमा सर्वसम्मत बनाउने सम्भावना कतिको छ ?

सचिव पदमा १२ जनाको नाम आएको छ । सबै जना शशक्त छन् । तर, हिजो पदाधिकारी भएका साथीहरुको पार्टी निर्माणको सन्दर्भमा राम्रो परिणाम आउन सकेन् । गठबन्धनको नाम लिएर उम्कने ठाउँ त होला । देशभरी गठबन्धन थियो । देशभरी सन्तोषजनक परिणाम आयो तर, कैलालीमा त्यो हुन सकेन । पदाधिकारीमा भएका साथीहरुले पार्टीको आन्तरिक व्यवस्थापन सन्दर्भ र जनताका जनजिविकासंग रहेका मुद्दालाई जसरी उठान गर्नुपर्ने थियो । त्यो खालको भुमिका हुन सकेन् । अहिले पदाधिकारी भएका साथीहरु शशक्त छन र अरु नयाँ साथीहरु कमजोर भन्ने होइन् । अहिले मनोविज्ञान के छ भने पार्टी निर्माण गर्ने भए नयाँ सिराबाट बहस प्रारम्भ गरिनुपर्छ । अहिले भएका पदाधिकारीहरुलाई उचित जिम्मेवारी स–सम्मान माथिलो कमिटिमा व्यवस्थापन गर्ने र नयाँ साथीहरुलाई नेतृत्व दिनुपर्छ भन्ने बहस जिल्लाभरी पार्टी पंक्तिभित्र चर्चामा छ । त्यो कारणले गर्दा लामो समय २० वर्षदेखि कैलालीको भुगोलमा बसेको, अनेरास्ववियूको नेतृत्व गरेको, जिल्ला, अञ्चल, केन्द्रिय सचिवालय समेतको नेतृत्व गरेको छु र कैलालीको एक सय २६ वडामा पार्टीको स्थान, जनताको चाहना, जातीय, क्षेत्रिय सबै खालका विषयलाई ठिक ढंगले सम्बोधन गरेर पार्टी निर्माण गरेर जान सक्ने सामथ्र्य म संग भएकाले मेरो उम्मेदवारी सचिवमा हो ।

गुटबन्दीको हाबी छ तपाई कुन गुटबाट उम्मेदवार बन्नु हुनेछ ?

पार्टी एकताबद्ध बनाएर जानेमा सबैको जोड छ । पार्टीको अध्यक्षको चाहनामा हामीले तीन पटक जिल्ला अधिवेशन सारेका छौं ।  पार्टी अध्यक्षको चाहना के भन्दाखेरी सुदूरपश्चिम प्रदेशमा पार्टी सुढृद गर्ने हो भने कैलालीको सुढृद हुनुपर्छ । प्रदेश अधिवेशनमा हामीले सर्वसम्मत चयन गर्दै एकताको सन्देश दिएका छौं र कैलालीमा पनि त्यो गर्नुपर्छ भन्ने छ अहिले नेताहरु विभाजित भएको जस्तो मलाई लाग्दैन् । तर, स्वभाविक रुपमा भोलि निर्वाचनमा जाँदा कार्यकतापक्ति विभाजित हुने कुरा अथवा उम्मेदवारको पक्षमा विभाजित हुने कुरा स्वभाविक होला । नेताहरुलाई विभाजित गरेरे हेर्ने कुरा त्यति उपयूक्त लाग्दैन मलाई ।

निर्वाचन भए तपाईको पक्षमा प्रतिनिधि छन् र ?

प्रतिनिधिको संख्या पाँच सय ६० देखि देखि पाँच सय ६५ रहनेछन् । अहिले मतको हिसाव हामीले गरेका छैनौं । समग्रमा सबै पालिका र वडाबाट आएका प्रतिनिधि र जनसंगठनबाट आएका प्रतिनिधिहरुसंग संवाद गर्दा उत्साहजनक अवस्था देखेको छु ।

पदबाट पछि हट्ने सम्भावना कतिको छ ?

पार्टी एकताका निम्ति अथवा सहमतिका निम्ति सचिवनै मै हुनुपर्छ नभए पार्टी बन्दैन भन्ने कुरा त्यति जिद्दी गर्दिन् । सहमतिका निम्ति जुनसुकै विकल्प खुल्ला छ । व्यक्ति प्रधान होइन । हामीले अहिले उठान गरेको कुरा के भने नागरिक उन्मुक्तिको प्रभाव कैलालीमा चरम रुपमा बढेको छ । स्वतन्त्र पार्टीको शहरिया मध्यम वर्गमा एक खालको जो हल्लाले गर्दा प्रभाव परेको छ । यी कुरालाई ध्यान दिएर हामीले पार्टी निर्माण गर्नुपर्ने छ । अर्कोतर्फ हिजो हामीले विस्थापित गरेको राजसंस्था । त्यसमा आस्था राख्ने व्यक्ति चाहे धर्मका नाम होस या राजाका नाममा होस यी पनि हाम्रा चुनौति छन । यी चुनौति सामना गर्न ठिक ढंगले पार्टी निर्माण गरिनुपर्छ । जनतामा व्यापक निराशा छ । यी निराशालाई चिरेर नेकपा एमालेले सवल र सक्षम नेतृत्व दियो है । अब नेकपा एमालेले कैलालीमा विकास, समृद्धि र जे खालका अराजकता देखा परेका छन । यी सबै खालको अन्त्यका लागि सक्षम नेतृत्व दिने सन्देश जान जरुरी छ । पार्टी भित्र सहमति भए म बाँधक बन्दैन । निर्वाचन भए साथी भाइको मनोविज्ञान र सरसल्लाह अनुसार अगाडि बढ्न त छदैछ । तर, मेरो सचिवमा शशक्त दाबी रहनेछ । सहमति हुँदा पनि सचिव र निर्वाचन हुँदा पनि सचिव मेरो दाबी हो । तर, पार्टी एकताका निम्ति र पार्टीमा एकताको सन्देश दिने सहमति भए । जुनसुकै त्याग गर्न पनि तयार छु ।

मेरा कारणले असहमति सृजना हुने कुरा हुन दिँदैन र त्यसो भएन र प्रतिष्पर्धा गर्ने कुरा भएमा सचिव पदमा लड्नेछु ।