हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

सांसद नारदमुनी रानाले कैलाली–कञ्चनपुरका हावाहुरी पीडतको समस्या स्थायी रूपमा समाधान गर्न माग गरेका छन्। बिहीबार संसद बैठकमा बोल्दै रानाले कैलाली–कञ्चनपुरमा गत बिहीबार आएको हावाहुरीले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराए।

हावाहुरी आएको अर्कोदिन आफू कैलाली–कञ्चनपुर पुगेको बताउँदै रानाले भने, ‘म पीडाको भारी बोकेर काठमाडौँ फर्किएको छु। त्यहाँको अवस्था उदेक लाग्दो छ। हामीले ३५ सय बढी पीडित परिवारलाई त्रिपाल बाँडेका छौँ तर त्यो स्थायी समाधान हैन। सरकारले स्थायी समाधान गर्नुपर्छ।’

उनले हावाहुरीले संयौँ घरपरिवारका छाना उडाएकाले खुल्ला आकाशमुनि रात काट्न बाध्य भएको गुनासो गरे। ‘प्रचण्ड गर्मी छ। त्यसैमा हावाहुरीका कारण ढलेका विजुलीका पाल एक हप्तासम्म मर्मत नहुँदा जनता थप समस्यामा छन्। त्यसैले सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ।’ उनले हावाहुरीका कारण केराबारी, उद्योग, पोल्ट्री फर्ममा क्षति पुगेको समेत संसदलाई जानकारी गराए।

कैलाली–कञ्चनपुरमा गत बिहीबार आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको थियो भने एक सय बढी घाइते भएका छन्। अझै घाइतेहरु उपचार गराइरहेका छन् भने पीडितहरू राहतको प्रतिक्षामा छन्। एक हप्तासम्म पनि विजुलीका पोलहरु मर्मत नगरिदा हावाहुरी पीडित थप समस्यामा छन्।