कञ्चनपुरका युवक हत्या प्रकरण: ५ महिनापछि सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ

कञ्चनपुरका युवक हत्या प्रकरण: ५ महिनापछि सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डांगीले बताए । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन् ।

उनका अनुसार उनीहरुलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।

रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाही मात्र घर आउने गरेका थिए ।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरेका थिए ।

कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् ।

राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए । सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो ।