सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्कियो

सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्कियो

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्किएको छ । कृष्णपुर नगरपालिकाले वडा नम्बर १ बण्डस्थित कालोपत्रे गरेको सडक दुई साता नपुग्दै भत्किएको हो ।

कालोपत्रे भत्किएपछि त्यसलाई ढाकछोक गर्न कालोपत्रे माथिबाट ग्राभेल हालिएको छ ।सडक निर्माणका लागि अपि निर्माण सेवासँग १३ लाख ८० हजार रुपैयाँमा गत बैशााखमा ठेक्का सम्झौता भएको थियो ।सम्झौता भएलगत्तै काम सुरु गरिएको सडकमा ठेकेदारले मापदण्डअनुसार काम नगरेकाले दुई साता नपुग्दै कालोपत्रे भत्किएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार नगरपालिका कार्यालयले भने सडक गुणस्तरिय रहेको भन्दै सडक फराकिलो बनाउन छेउमा ग्राभेल हालिएको बताउने गरेको छ ।उता कृष्णपुर नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम बोगटीले भने भत्किएको सडकखण्ड बारे आफूलाई जानकारी नभएको बताउँदै प्राविधिकसँग बुझ्नुपर्ने बताए ।५ मिटर चौडाइसहित २ सय २३ मिटर लम्बाइ रहेको सो सडकखण्डको दुबैतर्फ ग्राभेल सडक छन् ।