फारवेष्ट पशुपति गोदावरी राजधानी कप च्याम्पीयन

फारवेष्ट पशुपति गोदावरी राजधानी कप च्याम्पीयन

धनगढी : कैलालीको अत्तरीयामा भएको प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि धनगढीको फारवेष्ट पशुपति युवा क्लबले जितेको छ । पिएफए स्पोर्टस क्लबको आयोजनामा तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको प्रतियोगिताको फाईनलमा नेपालगंज–११ लाई ३–१ ल्े स्तब्ध पार्दै फारवेष्ट पशुपति च्याम्पीयन बनेको हो ।

पहिलो हाफको १५ औं मिनेटमा फारवेष्ट पशुपतिले खेलमा अग्रता लियो । डिवक्सभित्र पाएको वल गोलरक्षक प्रितम खड्काले रोक्ने प्रयास गरेपनि उनलाई विट गर्दै फारवेष्ट पशुपतिका कुवेर सिंहले गोल गरे । पहिलो हाफमा १–० ले अगाडी रहेको फारवेष्टले दोस्रो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

फारवेष्टका विक्रम सिंहले वान भर्सेस वानको अवस्थामा गोल गर्न खोज्दा गोलरक्षक प्रितम खड्काले बचाउने प्रयास गरे । तर खड्का विट भएपछि डिबक्सभित्रको वललाई सिंहले आकर्षक रुपमा गोलपोष्टको दिशा दिए । नेपालगंज–११ ले भने दोस्रो हाफको २८ औं मिनेटमा गोल गर्दै २–१ को अवस्थामा खेललाई पु¥यायो ।

फारवेष्टका गोलरक्षक सुजित जिसिीले रोकेर फर्केको वललाई नेपालगंजका विनोद केसीले गोलपोष्टको दिशा दिएका हुन । दोस्रो हाफमा अधिकांश समय वल आफ्नो कब्जामा राखेर पनि नेपालगंजले गोल गर्न सकेन् ।

दोस्रो हाफको ४५ औं मिनेटमा फारवेष्टका लागि विक्रम सिंहले व्यक्तीगत दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । उनले फाईनल खेलको म्यान अफ द म्याच हुदंै नगद तीन हजार पाए । फारवेष्टको जितमा गोलरक्षक सुजित जिसी नायक रहे । उनले नेपालगंजका दर्जनौ प्रहारलाई वचाउ गरे।

प्रथम गोदावरी राजधानी कप फुटबल प्रतियोगिताको विजेता भएसँगै फारवेष्ट पशुपति नगद चार लाख प्राप्त गरेको छ । उपविजेता नेपालगंज–११ ले दुई लाखमा चित्त वुझाएको छ । प्रतियोगिताका सवै विधामा फारवेष्ट पशुपतिले नै कब्जा जमाएको छ ।

उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक सुजित विसी भए । उनले उत्कृष्ट खेलाडी भए वापत नगद २५ हजार र उत्कृष्ट गोलरक्षक भए वापत नगद १५ हजार पाए । यसैगरी फारवेष्टकै प्रविन सुनार उत्कृष्ट रक्षक किरण वोहोरा उत्कष्ट मिडफिल्डर र विक्रम सिंह सर्वाधिक गोलकर्ता भए ।

उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी भने पिएफए स्पोर्टस क्लबका जनक देउवा भए । उनले पनि नगद १५ हजार पाए । 

पिएफए स्पोर्टस क्लबले आयोजना गरेको प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको फारवेष्ट पशुपति कपले धनगढीमा फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

गत पुसमा आयोजना भएको फारवेष्ट पशुपति कपको उपाधि पिएफए स्पोर्टस क्लबले जितेको थियो । त्यसको धनराशी पनि नगद चार लाख नै रहेको थियो । यसपालीदेखि पिएफए स्पोर्टस क्लबले आयोजनामा सुरु भएको प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि फारवेष्टले जितेको छ ।

दुवै प्रतियोगिताका आयोजकले एक अर्काले आयोजना गरेका प्रतियोगिता जितेका छन् । यसैविच प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको छ । पिएफए स्पोर्टस क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँद रहेका थिए ।