पत्रकार महासंघद्धारा तेस्रो चरणको अन्दोलन गर्ने

पत्रकार महासंघद्धारा तेस्रो चरणको अन्दोलन गर्ने

नेपाल पत्रकार महांघले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघको केन्द्रिय समितिले मंगलबार उपलब्ध केन्द्रीय सदस्यको बैठक र सरोकारवालासँगको सुझाव मार्फत ३ असार देखि ३० असारसम्म विविध कार्यक्रम गर्ने गरी आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार तेस्रो चरणको संघर्ष अन्तर्गत प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र पे्रस स्वतन्त्रता सभा आयोजना गर्नेसम्मका कार्यक्रम छन् ।

जसअनुसार ३ असारमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने महासंघको तयारी छ ।

त्यस्तै १५ अरसामा सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासंघले जनाएको छ ।

महासंघले प्रेस जगतको जायज माघ अघि सारेर आन्दोलन गर्दा पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेको भन्दै बिरोधसमेत जनाएको छ ।

‘विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङदिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक छ’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर समस्याको समाधान गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।