नेपाली स्टार फुटबलर बिमल घर्तीमगरले माल्दिभ्सको ट्रस्ट एण्ड केयर (टिसी) स्पोर्टस क्लबलाई च्यारिटी शिल्ड प्रतियोगिताको उपाधि दिलाएका छन् ।
अब्बल फरवार्ड बिमलले दुई गोल गर्दै टिसीले फोकाइधु फुटबल क्लबमाथी जित दर्ता गर्दे टोलीलाई उपाधि दिलाए ।
टिसीले पहिलो लेगको खेलमा फोकाइधुको घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो । दोश्रो लेगको खेल मंगलबार राति टिसीको घरेलु मैदानमा हुँदा ३–१ को नतिजा सहित समग्रमा ४–२ ले विजयी भएको छ ।
दोश्रो लिगको महत्वपूर्ण खेलमा टिसीको लागि इब्राहिम आइसामले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफमा अन्य कुनै गोल नभएपनि दोश्रो हाफमा भने फोकाइधु लयमा देखिएको थियो । खेलको ५८ औं मिनेटमा अलि शामिउले गोल गर्दै स्कोर बराबरीमा ल्याउन सफल भयो ।
बराबरी गोलले दबावमा आएको टिसीले आक्रामक रणनीति बुन्दै निरन्तर फोकाइधुको पोष्टमा प्रहार गर्ने क्रम शुरु गरेको थियो । यस्तोमा खेलका ६९ औं मिनेटमा बिमल घर्ती मगरले गोल गरेपछि टिसीको अग्रता बढ्यो ।
लगत्तै त्यसको ८ मिनेटपछि पुनः बिमलले गोल गर्दै टिसीको उपाधि सुनिश्चीत गराए । खेलको बाँकि समयमा कुनै गोल नभएपछि टिसीले जित हात पारेको थियो ।
महत्वपूर्ण खेलमा दुई गोल गरेका बिमलल टिसीसँग गत महिनामात्र करार गरेका थिए । एक वर्षको लागि गरिएको उक्त करार लगत्तै उनले टोलीलाई उपाधि दिलाएपछि बिमलको चर्चा ह्वात्तै चुलिएको छ ।