पश्चिमी वायु सुदुरपश्चिम हुँदै नेपाल छिर्‍यो, सतर्क हुन आग्रह

पश्चिमी वायु सुदुरपश्चिम हुँदै नेपाल छिर्‍यो, सतर्क हुन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश गरेको केहीबेर अघि जानकारी गराएको छ ।  यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् समीर श्रेष्ठले जानकारी गराएअनुसार बिहान सबेरै भारतको उत्तराखण्डमा रहेको सो वायु अहिले नेपालतर्फ छिरेको हो । उक्त वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेको जनाउँदै मौसमविद् श्रेष्ठले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने भएकोले सतर्क रहनुपर्ने जनाएका छन् । 

उनका अनुसार सामान्य जस्ताको छानो छ भने उडाउने सम्भावना समेत हुन सक्छ । उनले सो वायु मध्यपश्चिमसम्म आउने र त्यसपछि उत्तरपूर्व अर्थात तिब्बततिर लाग्ने अपेक्षा गरिएको समेत जनाए । सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको जनाइएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ ।  पूर्वी तथा मध्य  भूभागका थोेरै स्थान  र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । 

सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले जानकारी दिए ।  यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए । त्यहाँ हावहुरीले रुख ढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन । 

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा  र पश्चिमी पहाडी भूभागका केही  स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।